एमबिए पढेका नेता अटो चालक! द्वारिका मिश्रको प्रेरणादायी यात्रा

लमजुङ, ५ साउन : व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका यहाँको सुन्दरबजार नगरपालिका–९ का ५७ वर्षीय द्वारिका मिश्र अटो चलाउँछन् । राजनीति र समाजसेवा समेत गर्दै एका उनले विगत दुई वर्षदेखि अटो चलाउन थालेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुन्दरबजार नगर कमिटी अध्यक्ष मिश्रले दैनिक खर्च कटाएर एक हजारदेखि एक हजार ५०० रुपैयाँसम्म कमाउने गरेको बताए । “मलाई खानका लागि केही दुःख छैन तर पढेलेखेकाले अटो चालक बनेर स्वरोजगार बन्नुपर्छ, चालकहरुले यात्रुको मर्का बुझ्दैन । उहाँहरुलाई बुझाउन, श्रम विभाजन भयो भने घरमा झगडा हुन्छ तसर्थ श्रम गरियो भने त्यसले घरमा मेलमिलाप हुन्छ, आम्दानीको पाटो, समाजसेवा र राजनीतिमा टेवा पुग्ने उद्देश्यले अटो चलाउन थालेको हुँ”, उनले भने ।
सुन्दरबजार र बेँसीसहरको रुटमा अटो चलाउने गरेको उनको भनाइ छ । बिहान ५/६ बजेदेखि राति ८/९ बजेसम्म अटो चलाउने र यसको अलवा पार्टीको काममा खटिने गरेको उनले बताए । उनले भने, “दैनिक सो समयमा अटो चलाउने गरे पनि आकस्मिक कसैले कतै पु-याउन अनुरोध गरेमा राति १२/१ बजेपनि पु-याउने गर्छु ।”
उनका एउटी छोरी अष्ट्रेलिया, अर्की छोरी बेलायत, एउटा छोरा पोखरामा शिक्षक र बुहारी बैंकमा कार्यरत छन् । घरमा आफू र श्रीमती मात्र रहेको उनले बताए । त्यसो त सुन्दरबजार क्षेत्रमा समाजसेवा र राजनीतिमा द्वारिकाको छवि राम्रो छ ।
राजनीतिक र सामाजिक रूपमा उनको छवि एकातिर छँदैछ, अहिले सुन्दरबजारमा अटो चलाउन थालेर उनले कर्मशील हुनुपर्छ भन्ने सन्देश प्रवाह गरेका छन् । बेरोजगार भएर पनि सानो तिनो काम नगर्ने बरू नराम्रै काम गरेर पैसा कमाउन खोज्नेहरूका लागि उहाँ उदाहरण बन्नुभएको छ ।
विसं २०४१ मा एसएलसी पास गरेका उनले विसं २०५६ मै काठमाडौँकै सरस्वती क्याम्पसबाट ‘एमविए’ उत्तीर्ण गरे पछि उनले १७ वर्ष लमजुङका विभिन्न विद्यालयमा शिक्षण पेसा गरेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस