सांगीतिक सीप ओझेलमा, मादल व्यवसायको पतनसँगै घट्दै स्थानीय आयस्रोत

पाँच वर्षअघिसम्म निसीखोलाका तुबहादुर परियार मादल बनाउने व्यवसायबाटै आफ्नो घरखर्च चलाउँथे। करिब तीन दशकदेखि मादल बनाएर जीविकोपार्जन गर्दै आएका उनलाई अहिले परिवार पाल्न मुस्किल भएको छ।
परियारले मादल व्यवसायबाटै ९ जनाको परिवार पाल्दै आएका थिए। तर मादलको बिक्री घटेपछि अहिले उनी गिट्टी कुट्ने र बालुवा बोक्ने काम गर्छन्। मादल व्यवसाय संकटमा परेपछि उनले आफ्नो पुरानो पेशा छोड्न बाध्य भएका छन्।
बुबा, बाजे र दाजुहरूबाट सिकेको सीपले परियारलाई सात वर्षअघिसम्म सहजै परिवार पाल्न सहयोग गरेको थियो। अहिले भने उनका छोराहरू रोजगारीका लागि विदेशिएका छन्।
“पहिले त परिवार चलाउन समस्या थिएन,” परियार भन्छन्, “मादल बिक्री गरेरै ९ जनाको परिवार चलाएको थिएँ, छोराछोरी पढाएको थिएँ। तर अहिले त्यो काम चल्दैन, बिक्री नै हुँदैन। त्यसैले गिट्टी–बालुवा कुटेर पेट पाल्नुपरेको छ।”
परियारका अनुसार पहिले बाह्रै महिना मादलको माग हुन्थ्यो, अहिले भने चाडपर्वको समयमा मात्र केही ग्राहक आउने गर्छन्। उनी भन्छन्, “पहिले मादल बनाउन भ्याइनभ्याइ हुन्थ्यो, हरेक महिना कम्तीमा १० वटा मादल बिक्री गर्थेँ। वर्षमा झन्डै पाँच लाख कमाउँथेँ। अहिले कहिलेकाहीँ एक–दुई जना ग्राहक आउँछन्, पहिले बनाएका मादल बेचेर पठाउँछु।”
उनका अनुसार मादलको मूल्य पनि घटेको छ। “पहिले एउटा मादल एक हजार २०० देखि पाँच हजार रुपैयाँसम्ममा बेच्थेँ, अहिले त्यो मूल्य पनि पाइँदैन,” उनले भने।
परियारका अनुसार तिहारको समयमा मादलको माग केही बढ्छ, तर अहिले देउसी–भैलो खेल्नेहरूले पनि मादलको सट्टा साउन्ड सिस्टम किन्ने गरेको कारण व्यवसाय घट्दै गएको छ।
ढोरपाटन–२ का मकरबहादुर नेपाली पनि १४ वर्षदेखि मादल व्यवसायमा संलग्न छन्। तर उनको पनि अवस्था उस्तै छ। पहिले वार्षिक १,२०० भन्दा बढी मादल बेच्ने उनी अहिले ५० वटा पनि बिक्री गर्न नसकेको बताउँछन्।
“पहिले निसीखोला, ढोरपाटन, तमान, रोल्पा, र रुकुमसम्मका ग्राहक मादल किन्न आउँथे,” उनी भन्छन्, “अहिले पसल सुनसान छ। तिहारमा अलिअलि बिक्री हुन्छ, तर दुई महिनाको खर्च पनि पुग्दैन।”
उनका अनुसार सूचना र प्रविधिको विकासले मादलको बजार घटाएको छ। “पहिले गाउँमा मादलको ठूलो महत्व थियो। मेला, विवाह, व्रतबन्धमा मादल बज्ने गर्थ्यो। अहिले स्पिकर र साउन्ड सिस्टमले त्यसको ठाउँ लिइसके,” उनी भन्छन्, “अब मादल र अन्य मौलिक बाजा हराउँदै जाने खतरा छ।”
बुर्तिबाङ बजारका व्यवसायी जीवन शर्माका अनुसार पछिल्लो समय ठूला–ठूला साउन्ड सिस्टम र माइकको माग तीव्र गतिमा बढिरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस