Techie IT
२०८२ माघ ४, आइतबार

सुन्तला खेतीबाट बेनीकोटका किसानले कमाए दुई करोड रुपैयाँ


तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट गाउँका किसानले यस वर्ष करिब दुई करोड रुपैयाँ मूल्य बराबरको सुन्तला बिक्री गरेका छन्।

सदरमुकाम दमौलीबाट सात किलोमिटर दूरीमा अवस्थित बेनीकोटका किसान अहिले बारीमा फलेका सुन्तला टिप्ने र मिलाउने काममा व्यस्त छन्।

बेनीकोटका किसान फलबहादुर थापाले भने, “मैले यस वर्ष करिब रु १६ लाख ५० हजारको सुन्तला बिक्री गरेँ। सुन्तला खेतीबाट राम्रो आम्दानी भइरहेको छ। गाउँभर करिब दुई करोड मूल्य बराबरको सुन्तला बिक्री भएको छ।”

कालबहादुर रानाले आफ्नो बिक्री रु चार लाख पुगेको जानकारी दिए। उनले भने, “उत्पादन भएका सुन्तला बिक्रीका लागि कुनै समस्या छैन। ठेकेदार नै गाउँसम्म आउँछन्, बगानको मूल्य मिलाइ, बोट किन्ने, टिप्ने र ढुवानी गर्ने काम ठेकेदारले गर्छन्।”

स्थानीय मनसिंह थापाले सुन्तलाखेती अन्य खेतीको तुलनामा सहज र मनग्य आम्दानी दिने बताए। उनले भने, “प्रत्येक वर्ष मङ्सिरभरि बेनीकोटका किसानहरूलाई सुन्तला बिक्री गर्न भ्याइनभ्याइ हुन्छ। यस वर्ष मेरो बिक्री रु दुई लाख १० हजार पुगेको छ।”

यद्यपि, भिरालो सडक र सडक स्तरोन्नतिका अभावका कारण सदरमुकामबाट नजिक भए पनि ढुवानीमा केही समस्या रहेको व्यवसायी लेखबहादुर थापाले बताएका छन् । उनले भने, “अहिले दैनिक पाँचवटा गाडीमा सुन्तला बजार पुर्‍याइन्छ। जोखिमपूर्ण बाटो भएकाले ढुवानी असहज छ।”

बेनीकोटका किसानले प्रत्येक घरमा न्यूनतम २० देखि अधिकतम ८०० वटासम्म सुन्तलाका बोट लगाएका छन्। यहाँको उत्पादन काठमाडौं, चितवन र पोखरासम्म पुग्ने गरेको छ। मङ्सिर महिनामा धान भित्र्याउने समय भए पनि मुख्य आम्दानीको स्रोत सुन्तला भएकाले किसानहरू अहिले टिप्न र बिक्री गर्न व्यस्त छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट