जर्सी गाई र भैँसीपालनबाट मासिक डेढ लाख आम्दानी गर्दै दाङका विष्णु शर्मा
दाङको तुलसीपुर उपमहानगरपालिका–३ निवासी विष्णु शर्माले व्यावसायिक रूपमा जर्सी गाई र भैँसीपालन गर्दै मासिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर्दै आएका छन्। स्वदेशमै केही गरौँ भन्ने सोचका साथ व्यवसाय सुरु गरेका शर्माले हाल १३ वटा गाई र १२ वटा भैँसी पालिरहेका छन्।
खर्च कटाएर अहिले मासिक रु एक लाखदेखि डेढ लाखसम्म आम्दानी हुन्छ । शर्माले भने, “दैनिक ७५ लिटरसम्म दूध उत्पादन भइरहेको छ।” उनका अनुसार हाल बजारमा दूध प्रतिलिटर रु ९५ मा बिक्री भइरहेको छ।
दूधको बजारीकरणमा खास समस्या नरहे पनि वास्तविक किसानले उचित मूल्य नपाएको शर्माको गुनासो छ। अहिले दूध बेच्न समस्या छैन । उनले भने, “तर किसानले पाउनुपर्ने मूल्य नपाएको अवस्था छ, यसतर्फ सरकारले ध्यान दिनुपर्छ।” शर्माले विसं २०७७ देखि गाई र भैँसीपालन सुरु गरेका हुन्। हाल उनका नौ वटा गाई र पाँच वटा भैँसीले नियमित रूपमा दूध दिँदै आएका छन्।
किसान शर्माले करिब रु १३ लाख लगानी गरेर गोठ निर्माण गरेको र थप रु १३ लाख जति लगानी गरी गाई तथा भैँसी खरिद गरेको जानकारी दिए। उनका अनुसार उक्त लगानी हालसम्म उठिसकेको छ। दूधसँगै उनले गाईभैँसीको मलसमेत बिक्री गर्दै आएका छन्। “एक टिपर मल रु ३० हजारका दरले बिक्री हुन्छ,” उनले भने।
शर्माले व्यावसायिक पशुपालन गर्ने किसानका लागि पशुको निःशुल्क बिमा, भकारो सुधार कार्यक्रम वास्तविक किसानसम्म पुग्नुपर्ने र पशु एआई सेवा सरकारले सिधै किसानलाई उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याए। उनले ‘शर्मा बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्म’ दर्ता गरी व्यवसाय सञ्चालन गर्दै आएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस