बागमती प्रदेशका मुख्यमन्त्री लामा आज पदबाट राजीनामा दिदै

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजीनामा दिन निर्देशन दिएपछि लामाले पद त्याग गर्न लागेका हुन्।
मुख्यमन्त्री लामाले राजीनामा दिन लागेको पुष्टि प्रदेश सांसद तीर्थ लामाले गरेका छन्। उनले भने, “सभापतिले हिजो राजीनामा गर्न निर्देशन दिनुभएको छ। भोलिसम्म उहाँले राजीनामा दिनुहुन्छ।”
मुख्यमन्त्री लामाले हालै एक वर्षे कार्यकाल पूरा गरेका छन्। तर, कांग्रेस संसदीय दलमा उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुँदै नयाँ नेता चयनका लागि निर्वाचन भएको थियो। त्यसअनुसार कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भइसकेका छन्। कांग्रेसले अब बानियाँलाई नै मुख्यमन्त्री बनाउने तयारी गरिरहेको छ।
लामाले बानियाँसँग एक वर्षभित्र राजीनामा गर्ने सहमति गरेका थिए भन्ने दाबी एक पक्षले गर्दै आएको छ। तर, सहमतिअनुसार राजीनामा नगरेपछि असन्तुष्ट पक्षले अविश्वास प्रस्ताव ल्याएको बताइएको छ।
यद्यपि, लामाले संविधानको धारा १६८ (२) अनुसार दलको नेता नभए पनि मुख्यमन्त्री बन्न सकिने आधार देखाउँदै पद नछाड्ने अडान लिँदै आएका थिए। लामाको नेतृत्वमा कांग्रेस–एमाले गठबन्धनको सरकार गठन भएको थियो।
मुख्यमन्त्रीको विषयमा कांग्रेसभित्र उत्पन्न विवाद समाधानका लागि बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा कांग्रेस र एमालेका शीर्ष नेताबीच छलफलसमेत भएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस