Techie IT
२०८३ जेष्ठ १४, बिहीबार

मानसिक स्वास्थ्य सुधार र प्रविधिमैत्री शिक्षामा बागमती प्रदेशको जोड, सुत्केरीका लागि निःशुल्क हवाई उद्धारले निरन्तरता पाउने


बागमती प्रदेश सरकारले आधुनिक जीवनशैली, बढ्दो मानसिक तनाव र स्वास्थ्य चुनौतीहरूलाई सम्बोधन गर्ने गरी स्वास्थ्य तथा शिक्षा क्षेत्रमा महत्त्वकाङ्क्षी कार्यक्रमहरू अघि सारेको छ।

बुधबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममार्फत सरकारले नागरिकलाई योग, ध्यान र स्वजागरणका माध्यमबाट निरोगी बनाउन प्रदेश राजधानी हेटौँडामा प्रदेश गौरवको आयोजनाका रूपमा ‘आरोग्य केन्द्र’ स्थापना गर्ने घोषणा गरेको छ। आधुनिक जीवनशैली, जैविक, मनोवैज्ञानिक तथा वातावरणीय कारणबाट सिर्जित डर, चिन्ता, नैराश्यता, तनाव, माइग्रेन र डिप्रेसनजस्ता मानसिक तथा शारीरिक समस्या समाधानका लागि विशेष ध्यान दिइने नीति तथा कार्यक्रममा उल्लेख छ।

नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न स्थानीय तहसँगको सहकार्यमा डिजिटल स्वास्थ्य प्रणाली, दूर चिकित्सा (टेलिमेडिसिन) तथा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गरिने सरकारले जनाएको छ। मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको पहुँच बढाउँदै जोखिमयुक्त गर्भवती तथा सुत्केरी महिलाका लागि 'निःशुल्क हवाई उद्धार कार्यक्रम' लाई यस वर्ष पनि निरन्तरता दिइने भएको छ।

अस्पतालको स्तरोन्नति र एकीकृत प्रविधि
प्रदेश मातहतका अस्पतालहरूको पूर्वाधार विकास गर्दै क्यान्सर, मुटु, मानसिक स्वास्थ्य तथा डायलासिस सेवामा नागरिकको पहुँच बढाइनेछ। यसका साथै जलन (बर्न) उपचार, कृत्रिम गर्भाधान (आईभीएफ) तथा विशेषज्ञ आँखा सेवाको विकास र विस्तार गरिने सरकारको योजना छ। सम्पूर्ण स्वास्थ्य सेवालाई प्रविधिमैत्री बनाउन अस्पतालहरूलाई एकीकृत मेडिकल रेकर्ड र अनलाइन सेवासँग जोडिनेछ भने न्यूनतम सेवा मापदण्ड र क्लिनिकल अडिटमार्फत गुणस्तर सुधार गरिने नीति लिइएको छ। एलोपेथिक र आयुर्वेद सेवालाई एकीकृत गर्दै वैकल्पिक चिकित्सामार्फत स्वास्थ्य पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य सरकारले राखेको छ। यसैगरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको संस्थागत सुदृढीकरण गर्दै स्वास्थ्य अनुसन्धान तथा विशेषज्ञ जनशक्ति उत्पादनलाई प्रोत्साहन गरिनेछ।

प्राविधिक र अनुसन्धानमुखी शिक्षामा जोड
शिक्षा क्षेत्रतर्फ, अनिवार्य तथा निःशुल्क शिक्षाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहसँग सहकार्य गरिने भएको छ। विपन्न, अल्पसंख्यक तथा सीमान्तकृत समुदायका बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्ने कार्यक्रमहरूले निरन्तरता पाउनेछन्।

उच्च शिक्षालाई अनुसन्धानमुखी बनाउँदै प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तारमा जोड दिइएको छ। युवा वैज्ञानिक लक्षित कार्यक्रम, विद्यार्थी ह्याकाथन, आईटी स्किल फेलोसिप तथा प्रादेशिक 'स्टिम र आईटी' विद्यालय कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्ने नीति सरकारको छ। साथै, बागमती विश्वविद्यालयलाई विशिष्ट प्राविधिक विश्वविद्यालयका रूपमा रूपान्तरण गर्दै लैजाने योजना समेत सार्वजनिक गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट