आगामी साताभरि मनसुन थप सक्रिय रहने, देशैभर भारीदेखि 'धेरै भारी' वर्षाको चेतावनी
आगामी साताभरि देशभर मनसुनी वायुको प्रभाव तीव्र रहने भएको छ। साताको मध्यतिर देशका विभिन्न भूभागमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागकी मौसमविद् विनु महर्जनका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिमी भूभागमा सरदर स्थानभन्दा माथि रहनेछ। यस्तै, पूर्वी भूभागमा साताको मध्यदेखि यो रेखा सरदर स्थानभन्दा केही माथि सर्दै तराई नजिक आइपुग्ने अनुमान छ। यसका कारण साताभरि नै मुलुकभर वर्षाको गतिविधि निकै सक्रिय रहनेछ।
१. हिमाली क्षेत्र: मध्यम वर्षा र हिमपात
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भेगका धेरै स्थानमा साताको सुरु र मध्यमा मध्यम वर्षा हुनेछ भने उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि मध्यम वर्षा हुनुका साथै साताको मध्यमा एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान छ।
२. पहाडी क्षेत्र: पहिरोको जोखिम
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा साताभरि नै मध्यम वर्षा हुनेछ। साताको सुरु र अन्त्यमा केही स्थानमा भारी वर्षा तथा मध्यतिर 'भारीदेखि धेरै भारी' वर्षा हुनसक्ने विभागले जनाएको छ। कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि साताको मध्यतिर वर्षा थप सक्रिय भई केही स्थानमा भारी वर्षा हुनेछ।
३. तराई क्षेत्र: डुबानको खतरा
तराई भूभागमा पनि साताभरि नै वर्षाको शृङ्खला जारी रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा साताको सुरु र मध्यमा भारी वर्षा तथा मध्यतिर केही स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। मधेस र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि साताको सुरु र मध्यतिर केही स्थानमा भारी वर्षा हुने विभागको पूर्वानुमान छ।



तपाईको प्रतिक्रिया दिनुहोस