बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको खतरा
देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको उच्च सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ ।
हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भू–भागमा मौसम बदली रहेको छ भने मधेस र लुम्बिनीका तराई क्षेत्रमा आंशिक बदली छ । कोशी, बागमती, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका केही तथा गण्डकीका एक–दुई स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर मौसम बदली रहनेछ । हिमाली तथा पहाडी क्षेत्रमा मध्यम वर्षा र हिमपातको सम्भावना छ भने तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ । बागमती, गण्डकी र कर्णाली प्रदेशका केही पहाडी स्थानमा भारी वर्षाको जोखिम छ ।
राति पनि देशभरकै मौसम बदली रहनेछ । मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ । विशेष गरी कोशीका पहाडी तथा तराई र बागमती तथा गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको आँकलन गरिएको छ ।
भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम उच्च छ । यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा अवरोध पुर्याउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस