आज यी स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ (नेपालको तराई भूभाग नजिक) अवस्थित छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी र तराई भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको आकलन गरिएको छ। साथै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभाग, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग, र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
त्यसैगरी, आज राति पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग र मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा समेत वर्षाको सम्भावना छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको मौसम बुलेटिनमा उल्लेख छ।



तपाईको प्रतिक्रिया दिनुहोस