देशभर मनसुन सक्रिय: यी स्थानमा भारीदेखि अति भारी वर्षाको चेतावनी
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा उत्तरतर्फ अर्थात् नेपाल नजिक अवस्थित रहेका कारण यसको प्रभावले अहिले देशभर साधारणतया बदली रही बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाले आज दिउँसो र राति पनि देशभर साधारणतया बदली रहने जनाएको छ। दिउँसोको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थान, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
त्यसैगरी, आज राति देशका हिमाली भूभागका केही स्थान, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। यसै क्रममा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ भने सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुन सक्ने महाशाखाले चेतावनी दिएको छ।
अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम उच्च रहने भएकाले नदीनाला आसपासका बासिन्दा र यात्रा गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले विशेष आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस