Techie IT
२०८३ असोज २०, मंगलबार

यी स्थानमा आज पनि भारी वर्षा र हिमपातको सम्भावना


देशका केही स्थानमा आज (असोज २०) पनि भारी वर्षाको पूर्वानुमान गरिएको छ। यसअघि सोमबार (असोज १९) पनि कैलाली लगायतका ठाउँमा भारी वर्षा भएको थियो।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोलि (असोज २०–२१) वाग्मतीदेखि पश्चिम नेपालका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ। साथै, देशका हिमाली भूभागमा हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ। हाल देशमा पश्चिमी वायुका साथै मनसुनी वायुको समेत संयुक्त प्रभाव रहेको मौसम विभागले स्पष्ट पारेको छ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पनि आज केही ठाउँमा भारी वर्षाको सम्भावना औँल्याएका छन्। पछिल्लो २४ घण्टामा देशका धेरै स्थानमा वर्षा भएको उल्लेख गर्दै उनले लुम्बिनी र कर्णाली प्रदेशका केही क्षेत्रमा असिनासहित भारी वर्षा भएको जानकारी दिएका छन्।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत मौसमको स्थिति स्पष्ट पार्दै उनले भनेका छन्, “वायुमण्डल अस्थिर हुँदा कुनै ठाउँमा मेघगर्जन, चट्याङ, असिना र छोटो समयका लागि भारी वर्षा हुन सक्छ। यस्ता घटना प्रायः सानो क्षेत्रमा र छोटो अवधिका लागि हुने भएकाले ग्लोबल फोरकास्ट (पूर्वानुमान) मोडलले ठ्याक्कै कुन ठाउँमा कति वर्षा हुन्छ भनेर देखाउन सक्दैनन्।”

आज पनि अवस्था लगभग हिजोकै जस्तो रहने बताउँदै उनले धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा केही स्थानमा मेघगर्जन र असिनासहित छोटो समय भारी वर्षा हुन सक्ने बताएका छन्। उनले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन्।

मौसम विभागका अनुसार आज दिउँसो काठमाडौं, सिमरा, भैरहवा, डडेलधुरा, दिपायल, धनगढी, वीरेन्द्रनगर, नेपालगन्ज, घोराही, पोखरा, ओखलढुंगा, जिरी र ताप्लेजुङलगायत स्थानमा वर्षाको सम्भावना करिब ४० प्रतिशत रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट