बडादसैँ सुरु: घरघरमा घटस्थापना गरी मनाइँदै, साइत कतिवेला छ उपयुक्त ?
नेपालीको महान् पर्व बडादसैँ आज (आश्विन शुक्ल प्रतिपदा) देखि विधिवत् रूपमा सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाइन्छ।
बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँदै छ। पूजा कोठा वा दसैँ घरमा वैदिक विधिअनुसार शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरेर पूजा आरम्भ गरिन्छ।
आज बिहानै नित्यकर्म समाप्त गरी नजिकैको नदी वा चोखो स्थलबाट ल्याइएको बालुवा/माटोमा गाईको गोबरले लिपपोत गरी जौँ (यव) रोप्ने परम्परा छ, जसलाई ‘जमरा राख्ने’ भनिन्छ। यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपिएको जमरा विजयादशमीका दिन टीका-प्रसादसँगै समृद्धिको प्रतीकका रूपमा ग्रहण गरिन्छ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमका अनुसार जमरामा जौँबाहेक अन्य अन्न रोप्ने शास्त्रीय विधि नभए पनि कुल परम्पराअनुसार कतिपयले जौँसँगै अन्य अन्न पनि रोप्ने गर्छन्। जमरालाई आयुर्वेदिक औषधि रूपमा समेत उपयोगी मानिन्छ।
घटस्थापनाको साइत बिहान ११:४७ बजे
घट अर्थात् घडा स्थापना गरी शक्तिस्वरुप दुर्गाको पूजा गरिने भएकाले आजको दिनलाई घटस्थापना भनिएको हो। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिन दुर्गाको प्रसाद ग्रहण गरिन्छ।
समितिका अनुसार आज घटस्थापनाको शुभ साइत बिहान ११:४७ बजे रहेको छ। समितिका अध्यक्ष सह-प्रा.डा. पुरुषोत्तम भट्टराईले आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचनअनुसार मध्याह्नकालमा अभिजित् मुहूर्तको साइत दिइएको जानकारी दिए। सूर्योदयकालमा प्रतिपदा भएका दिन घटस्थापना गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार नै आजको दिन चयन गरिएको हो।
नवरात्रभर दुर्गाका तीन रूप— महाकाली (शक्ति), महालक्ष्मी (धनधान्य र ऐश्वर्य) र महासरस्वती (विद्या र बुद्धि) को विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ। दुर्गाले आसुरी प्रवृत्तिका राक्षसहरू (चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीज) को वध गर्न लिएका नौ रूपको पूजा गरिने भएकाले आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई ‘दुर्गा पक्ष’ पनि भनिन्छ।
नौ दिन, नवदुर्गाको पूजा
पहिलो दिन: शैलपुत्री
दोस्रो दिन: ब्रह्मचारिणी
तेस्रो दिन: चन्द्रघण्टा
चौथो दिन: कुष्माण्डा
पाँचौँ दिन: स्कन्दमाता
छैटौँ दिन: कात्यायनी
सातौँ दिन: कालरात्रि
आठौँ दिन: महागौरी
नवौँ दिन: सिद्धिदात्री
आसुरी प्रवृत्तिबाट मानव जातिको रक्षा गरेकाले दुर्गादेवीको पूजाआजा गर्ने शास्त्रीय नियम छ। धर्मशास्त्रविद् गौतमका अनुसार दसैँ कुनै जात वा धर्म विशेषको नभई असत्यमाथि सत्यको विजयको प्रतीक हो। घटस्थापनादेखि महानवमीसम्म दिनहुँ दुई वर्षमाथिका नौ जना कन्याको समेत पूजा गरिन्छ।
सातौँ दिन फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीमा शक्तिपीठ तथा कोतहरूमा बलिसहित विशेष पूजा गरिन्छ। नवरात्रभर दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्रहरूको पाठपारायण गरिन्छ। यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठहरूमा दर्शनार्थीको बाक्लो भीड लाग्छ।
विजयादशमीको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
दसैँको मुख्य दिन कात्तिक ४ गते बुधबार विजयादशमी परेको छ। सो दिन बिहान ८:४९ बजे देवी विसर्जनको साइत रहेको छ भने मान्यजनबाट टीका-प्रसाद ग्रहणका लागि बिहान १०:२६ बजेको साइत उत्तम रहेको समितिले जनाएको छ।
विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम चल्छ। पूर्णिमाको रात महालक्ष्मीको व्रत बसी जाग्राम बसेर धन ऐश्वर्य प्राप्तिको कामना गरिन्छ। सोही दिन घटस्थापनाका दिन राखिएको जमरा चोखो स्थलमा विसर्जन गरिन्छ।
हनुमानढोका र पारिवारिक पुनर्मिलन
काठमाडौँको हनुमानढोका दरबारस्थित दसैँ घरमा पनि आजैदेखि वैदिक विधिअनुसार जमरा राखी पूजा सुरु हुन्छ। हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार बिहान चित्रा नक्षत्र र वैधृति योगको पूजा एवं हवन गरी समितिको साइतमा घटस्थापना गरिँदै छ।
रोजगारी र अध्ययनका लागि घरबाहिर रहेका मानिसहरू दसैँ मनाउन थातथलो फर्कने भएकाले बडादसैँलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा पनि लिइन्छ। शैक्षिक संस्था तथा सरकारी कार्यालयहरूमा बिदा सुरु भएसँगै राजधानीसहित मुख्य सहरहरूबाट घर फर्कनेहरूको बाक्लो चहलपहल देखिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस