चाडपर्वमा बासी र फोहोर खाना बेचे कडा कारबाही हुने
दसैँ, तिहार तथा छठजस्ता ठूला चाडपर्वलाई लक्षित गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले होटल, रेस्टुरेन्ट, मिठाई पसल तथा भोजनालयमा खाद्य स्वच्छता र गुणस्तर कायम गर्न कडा निर्देशन दिएको छ।
विभागले बिहीबार एक सूचना जारी गर्दै विशेषगरी राजमार्गमा यात्रा गर्ने यात्रुलाई खाना, खाजा तथा नास्ता बिक्री-वितरण गर्ने व्यवसायीहरूलाई स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ मात्र उपलब्ध गराउन निर्देशन दिएको हो।
विभागका अनुसार व्यवसायीहरूले उपभोग्य म्याद बाँकी रहेका खाद्य पदार्थ मात्र बिक्री गर्नुपर्नेछ। पकाएको र नपकाएको खाना छुट्टाछुट्टै राख्न, सुरक्षित तापक्रममा भण्डारण गर्न, भान्सा तथा परिसर सधैँ सफा राख्न, कामदारको व्यक्तिगत सरसफाइमा ध्यान दिन र सफा भाँडाकुँडाका साथै स्वच्छ पानीको प्रयोग अनिवार्य गर्न भनिएको छ।
त्यस्तै, गुणस्तरीय कच्चा पदार्थ प्रयोग गरी राम्ररी पकाइएका परिकार मात्र उपभोक्तालाई पस्कनुपर्नेछ। बासी, सडेगलेका, झिँगा भन्केका, धुलो तथा फोहोर पानी मिसिएका वा अस्वच्छ वातावरणमा तयार पारिएका खाद्य पदार्थ बिक्री-वितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
खाद्य पदार्थ बिक्री गर्ने स्थानमा आवश्यकताअनुसार चिसो वा तातो तापक्रमको उचित व्यवस्थापन गर्न र तोकिएको वा उचित मूल्यमा मात्र बिक्री-वितरण गर्नसमेत विभागले ताकेता गरेको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ का प्रावधानहरू पूर्ण रूपमा पालना गर्न सचेत गराउँदै विभागले निर्देशन उल्लङ्घन गर्ने जोकोही व्यवसायीमाथि कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ। साथै, विभाग वा मातहतका कार्यालयबाट खाद्य स्वच्छताका आधारमा व्यवसायको स्तरीकरण गराई mandatory रूपमा ‘खाद्य स्वच्छता लोगो’ लिएर मात्र व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको छ।
चाडपर्वको समयमा खाद्य पदार्थको खपत र यात्रुको आवतजावत उल्लेख्य रूपमा बढ्ने भएकाले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी यो कदम चालिएको विभागले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस