Techie IT
२०८३ कार्तिक ४, मंगलबार

आज महानवमी पर्व: देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो


प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा-आराधना गरी देशभर हर्षोल्लासका साथ मनाइँदै छ।

घटस्थापनाका दिन राखिएको जमरा आज विभिन्न शक्तिपीठहरूमा चढाइन्छ। दसैँघर, कोत तथा राज्यका विभिन्न देवी मन्दिरहरूमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको पूजा गरिन्छ। यस अवसरमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र देवी स्तोत्रको पाठसमेत गर्ने गरिन्छ।

अहिंसावादी तथा शाकाहारीहरूले भने महा नवमीका दिन कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलको बलि दिई पायस (खिर) चढाउने गर्छन्। अधिकांश स्थानमा महाष्टमीका दिन बलि दिने र महानवमीका दिन 'मार' हान्ने परम्परा छ।

मार्कण्डेय पुराण अनुसार महानवमीकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेकाले यस तिथिलाई विशेष महत्त्वका साथ हेरिन्छ। कतिपय शक्तिपीठमा आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको 'पञ्चबलि' दिने गरिन्छ।

नवरात्रको अन्तिम दिन आज देशभरका शक्तिपीठहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। घटस्थापनाका दिन जमरा राखिएको पूजाकोठा वा दसैँघरमा आज नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा-आराधना गरिँदै छ। साथै, कन्यालाई दुर्गाको प्रतीक मानेर पूजा गरी दक्षिणा दिने र महाकाली, महालक्ष्मी तथा महासरस्वतीको समेत आराधना गर्ने परम्परा छ।

महानवमीका अवसरमा विभिन्न कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ। हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना र कोतपूजा गर्ने प्रचलन छ।

वर्षमा केवल एकपटक अर्थात् महानवमीका दिन मात्र खुल्ने हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। दर्शनार्थीको सहजताका लागि सम्पूर्ण तयारी पूरा गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ।

दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार आज बेलुका ६ बजेसम्म मन्दिर भक्तजनका लागि खुला रहनेछ। तलेजु भवानीलाई भने फूलपातीका दिन नै हनुमानढोका दरबारको मूलचोकमा ल्याइसकिएको छ। विजयादशमीका दिन बिहान मात्र भवानीलाई मूल मन्दिरमा फर्काइनेछ।

सोही मूलचोकमा सोमबार महाअष्टमीको राति 'कालरात्रि पूजा' गरी ५४ वटा बोका र ५४ वटा राँगाको बलि दिइएको छ। राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पका साथ तान्त्रिक विधिबाट उक्त पूजा सम्पन्न गरिएको हेरचाह अड्डाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट