पोखरामा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु
पोखरा महानगरपालिका–१८, अँधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ।
बिहीबार करिब ७ फिट गहिरो खाल्डोमा जग खन्ने काम गरिरहेका उनीहरू माथि अचानक माटोको ढिस्को खस्दा पुरिएका थिए। दुर्घटनामा परी घाइते भएका पर्वतको महाशिला गाउँपालिका–६, फलामखानीका २९ वर्षीय विक्रम सुनार र गोरखाको पालुङटार नगरपालिका–७ का ३७ वर्षीय राजु कुमाललाई उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो। तर, अस्पतालमा स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनापछि वडा प्रहरी कार्यालय बगर र सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण पोखराबाट खटिएको सुरक्षा टोली तथा स्थानीय बासिन्दाको संयुक्त प्रयासमा माटो पन्छाएर उनीहरूको उद्धार गरिएको थियो। उक्त दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस