Techie IT
२०८३ असोज २६, सोमबार

हिम पावरको आईपीओ कात्तिक ११ देखि खुल्दै


हिम पावर हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। 

कम्पनीले कुल जारी पूँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो, जसमध्ये पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरूका लागि शेयर खुला गर्न लागिएको हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १०० रुपैयाँ अंकित दरका १६ लाख ९० हजार कित्ता शेयर छुट्याएको छ। यसमध्ये १० लाख १४ हजार कित्ता दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु गाउँपालिका (वडा नं. ५, ६, ७ र ८) तथा कालिन्चोक गाउँपालिका (वडा नं. २, ३ र ४) का स्थायी बासिन्दाहरूलाई बाँडफाँट गरिनेछ भने बाँकी ६ लाख ७६ हजार कित्ता ती दुवै गाउँपालिकाका अन्य वडाहरूका बासिन्दाका लागि छुट्याइएको छ। त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात् ४ लाख २२ हजार ५०० कित्ता शेयर श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपालीहरूका लागि निष्कासन गरिनेछ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित स्थानीयका लागि निष्कासन बन्द छिटोमा कात्तिक २५ गते र ढिलोमा मंसिर १० गते हुनेछ भने वैदेशिक रोजगारीमा रहेकाहरूका लागि छिटोमा कात्तिक १६ गते र ढिलोमा कात्तिक २५ गतेसम्म आवेदन दिने अवधि तोकिएको छ। क्रेडिट रेटिङतर्फ इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।

कम्पनीले सञ्चालन गरेका दुई जलविद्युत् आयोजनाहरू, २० मेगावाटको साँगु खोला जलविद्युत् आयोजना (कुल लागत ३ अर्ब ६५ करोड १७ लाख रुपैयाँ) ले २०८२ असोज २५ गतेदेखि र ५.५ मेगावाटको साँगु खोला १ जलविद्युत् आयोजना (कुल लागत १ अर्ब १५ करोड ४ लाख रुपैयाँ) ले २०८२ साउन ८ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेका छन्। दुवै आयोजनाको विद्युत् अनुमतिपत्रको अवधि २८ वर्ष बाँकी रहेको छ।

शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट बैंक, सिन्धु विकास बैंक र प्रभु बैंकको सिंगटी शाखा, लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सटेन्सन काउन्टर तथा सिटिजन्स बैंकको चरिकोट शाखाबाट २ रुपैयाँ शुल्क बुझाएर दरखास्त फाराम प्राप्त गरी आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने सी-आस्बा प्रणाली तथा मेरो शेयर (Mero Share) अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट