कहिले देखि शुरु हुन्छ गेटामा एमबीबीएसको अध्यापन ?
कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी माघको अन्तिम सातादेखि चिकित्सा शिक्षाको अध्यापन सुरु हुने भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले शैक्षिक सत्र २०८३/८४ का लागि उक्त विश्वविद्यालयमा पहिलोपटक 'एमबीबीएस' (MBBS) तर्फ ५० सिट निर्धारण गरेको हो। यस निर्णयसँगै सुदूरपश्चिममै दक्ष चिकित्सक तथा स्वास्थ्य जनशक्ति उत्पादन गर्ने बाटो खुलेको छ।
आयोगको बैठकले गेटा विश्वविद्यालयका लागि नर्सिङतर्फ २० सिट, बीएस्सी मेडिकल ल्याब टेक्नोलोजी (B.Sc. MLT) मा १० सिट र बी अप्टोमेट्रीमा १० सिट गरी पहिलो शैक्षिक सत्रका लागि कुल ९० सिट निर्धारण गरेको छ। विश्वविद्यालयका रजिस्ट्रार डा. भीम चन्दका अनुसार आयोगको शैक्षिक क्यालेन्डर अनुसार आगामी माघ अन्तिम हप्तादेखि कक्षा सञ्चालन हुनेछ।
अन्य प्रतिष्ठानहरूमा पनि सिट वृद्धि
यसैगरी, आयोगको बैठकले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौँस्थित नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसतर्फको सिट सङ्ख्या बढाएर १३० पुर्याउने निर्णयसमेत गरेको छ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५, राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७, आयोगद्वारा स्वीकृत न्यूनतम मापदण्ड, सिट निर्धारणसम्बन्धी एकीकृत कार्यविधि, २०८३ तथा 'नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज' कार्यक्रम सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०८३ बमोजिम यी सिटहरू निर्धारण गरिएका हुन्।
३०० शय्याको शिक्षण अस्पताल र आधुनिक सेवा विस्तार
गेटामा एमबीबीएस अध्ययनको सिट स्वीकृत हुनुलाई सुदूरपश्चिमको स्वास्थ्य शिक्षा र सेवा क्षेत्रकै महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। विश्वविद्यालयले अध्यापनसँगै शिक्षण अस्पतालको सेवा विस्तारलाई पनि तीव्रता दिएको छ।
अस्पतालमा हाल ६२२ शय्या (बेड) जडान भइसकेको र यसै वर्षदेखि ३०० शय्याको अस्पताल पूर्ण रूपमा सञ्चालनमा ल्याएर ५०० शय्याको अस्पताल सञ्चालनको प्रक्रिया अघि बढाइने रजिस्ट्रार डा. चन्दले जानकारी दिएका छन् । साथै, यसै वर्षदेखि अस्पतालमा सिटी स्क्यान, एमआरआई (MRI) र क्याथ ल्याब जस्ता आधुनिक परीक्षण तथा उपचार सेवाहरूसमेत सञ्चालनमा ल्याउने तयारी गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस