प्रति सिलिन्डर ७ हजार रुपैयाँमा ग्यास बेच्ने पसल सञ्चालक पक्राउ
तोकिएको भन्दा अत्यधिक बढी मूल्यमा खाना पकाउने एलपी ग्यास बिक्री गरी कालोबजारी गरेको आरोपमा भक्तपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका-२, दुवाकोट बारुदखाना चोकमा डेरा गरी बस्ने ५७ वर्षीय तुलसीराम त्वयना रहेका छन्। उनले सोही स्थानमा ‘त्वयना किराना पसल’ सञ्चालन गर्दै आएका थिए।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार, त्वयनाले उपभोक्तालाई बजार मूल्यभन्दा कैयौँ गुणा बढी अर्थात् प्रतिसिलिन्डर ७ हजार रुपैयाँका दरले ग्यास बिक्री गरिरहेको भन्ने विशेष सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पसलमा अनुगमन तथा चेकजाँच गर्दा अत्यधिक महँगो मूल्यमा बेच्न राखिएका ३ थान ग्यास सिलिन्डर फेला पारेको थियो।
बजार मूल्यविपरीत मनपरी रूपमा महँगो मूल्य असुली कालोबजारी गरेको पुष्टि भएपछि पसल सञ्चालक त्वयनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक कुमार कार्कीका अनुसार, पक्राउ परेका त्वयनामाथि हिरासतमा राखेर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस