स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ
रौतहटको गौर भन्सार कार्यालय अगाडिबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी वसन्त गौतमका अनुसार गौर नगरपालिका–१ स्थित गौर भन्सार कार्यालय अगाडि शुक्रबार साँझ करिब पौने आठ बजे संयुक्त चेकिङका क्रममा भारततर्फबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा भारतको शिवहरि जिल्ला रामपुर भटहा थाना बस्ने मोहन गिरीका २२ वर्षीय छोरा करण कुमार गिरी र सोही स्थानका रामेश्वर रायका ३५ वर्षीय छोरा लालबाबु राय रहेका छन्। भन्सार सुरक्षा गार्ड र सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म गौरबाट खटिएको संयुक्त टोलीले उनीहरूको शरीर तथा झोला जाँच गर्दा साथबाट स्रोत नखुलेको १ लाख ८ हजार ५ सय भारतीय रुपैयाँ र एउटा मोबाइल बरामद भएको डीएसपी गौतमले बताएका छन्।
बरामद गरिएको रकमको वास्तविक स्रोत के हो र उनीहरू अवैध रूपमा रकम बोकेर नेपाल प्रवेश गर्नुको मुख्य उद्देश्य के थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस