कीर्तिपुरबाट खैरो हेरोइनसहित सुदूरपश्चिमका चार जना पक्राउ
प्रहरीले काठमाडौँको कीर्तिपुरबाट २५ ग्रामभन्दा बढी लागुऔषध खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शुक्रबार साँझ कीर्तिपुरको ट्याङ्लाफाँट क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा बझाङको छबिसपाथिभारा गाउँपालिका–१ घर भएका २७ वर्षीय विवेक भण्डारी, मोरङका २७ वर्षीय मोहन बस्नेत, डोटीका २८ वर्षीय मनोज सिंह र कञ्चनपुरको भिमदत्त नगरपालिका–६ घर भएका अनिल चन्द रहेका छन्।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट २५ ग्राम १ मिलिग्राम खैरो हेरोइन, कारोबारमा प्रयोग हुने डिजिटल तराजु तथा अवैध कारोबारबाट आर्जित ७१ हजार रुपैयाँ नगद समेत बरामद गरेको छ।
पक्राउ परेका चारै जनालाई प्रहरी वृत्त कीर्तिपुरमा राखिएको छ भने जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर लागुऔषध मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस