Techie IT
२०८२ मंसिर १६, मंगलबार

के हो काठमाडौँमा सुरु भएको एनएफसी प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली ?


काठमाडौँ महानगरपालिका वडा नं २६ ले लैनचौर क्षेत्रबाट एनएफसी (नियर फिल्ड कम्युनिकेसन) चिप प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली जडान सुरु गरेको छ।

लैनचौरस्थित वडा कार्यालयमा ‘०९–लक्ष द्रव्य ६१११’ नम्बरको प्लेटसहितको डिजिटल ठेगाना प्रणाली वडाध्यक्ष एवं महानगरपालिकाको सुशासन समितिका संयोजक ख्यामराज तिवारीले औपचारिक रूपमा शुभारम्भ गरेका हुन्।

वडा कार्यालयपछि अल्का बस्ती मार्ग, लैनचौर मार्ग हुँदै अन्य क्षेत्रमा प्लेट जडान गर्ने योजना छ। डिजिटल ठेगाना प्रणाली खरिद तथा जडानको प्रक्रिया आर्थिक वर्ष २०८१/८२ मा सुरु गरिएको थियो। जडानको कुल लागत करिब ४५ लाख रुपैयाँ रहेको छ। ६ हजार ८५० घरधनी रहेको वडाभित्र २०८२ कात्तिक मसान्तसम्म प्रणाली जडान गरिसक्ने लक्ष्य राखिएको छ । कामको ठेक्का जेबीएस इन्फ्रास्ट्रक्चरले पाएको छ।

वडाध्यक्ष तिवारीका अनुसार पुरानो ठेगाना र बाटोका नामलाई यथावत राख्दै प्रत्येक घरमा क्यूआर कोड र चिपसहितको ठेगाना प्लेट जडान गरिएको छ। जडान गरिएको प्लेटमा स्थानीय नेपाली कोडसँगै ‘युनिभर्सल गुगल प्लस कोड’ समेत हुनेछ। घरधनीले प्लेटको फोटो पठाएपछि मात्र लोकेसन पत्ता लगाउन सकिन्छ।

एल्मुनियममा लेजर प्रविधि मार्फत तयार पारिएको एनएफसी ठेगाना प्लेटमा खानेपानी, बिजुली, इन्टरनेट लगायत सेवासँग सम्बन्धित ग्राहक नम्बर राखिएको छ। प्रत्येक आइडी नम्बर अद्वितीय छ र यो अफलाइनमा समेत खोज्न सकिन्छ।

नम्बर प्लेटमा रहेको क्यूआर कोडले घरमा आउने पाहुनाले ‘डोर बेल’को रूपमा प्रयोग गर्न सक्ने सुविधा दिन्छ। साथै, फोहोर संकलन, सर्वेक्षण वा स्थानीय सूचना प्रवाह जस्ता अत्यावश्यक काम छिटो र न्यून लागतमा गर्न सकिन्छ।

वडाका सचिव केदार रिमालका अनुसार, “यसअघि करदाता र सेवाग्राहीको पहिचान गर्न कठिनाइ थियो। डिजिटल घर नम्बर प्रणालीले सेवा प्रवाह र राजस्व सङ्कलन जस्ता कामलाई छरितो र सजिलो बनाउनेछ।”

वडाध्यक्ष तिवारीले भने, “विद्युतीय शासनको पहिलो पूर्वाधार सेवाग्राहीको घर र ठेगाना प्रणाली हो। यसबाट विद्युतीय नागरिक सहभागिता सुनिश्चित गर्न सकिन्छ। आफ्नै स्थानबाट सेवा प्राप्त गर्ने सुविधा प्रदान हुने भएकाले यो प्रविधि अन्य वडामा पनि विस्तार हुनेछ।”



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट