Techie IT
२०८२ वैशाख २६, शुक्रबार

जाकाराण्डा फूलको संरक्षण गर्दै महानगर


ललितपुर । ललितपुर महानगरपालिका–१४ स्थित चक्रपथ वरपर वैजनी रङको जाकाराण्डा फूल ढपक्क फुलेको छ । वसन्त ऋतुमा फूल्ने यस फूलले यहाँको शोभा बढाएको छ । अचेल दिनहुँजसो फूल र चक्रपथलाई पृष्ठभूमिमा राखेर तस्बिर र भिडियो खिच्ने युवायुवतीको उपस्थिति झनै हेर्न लायक हुन्छ ।      

चक्रपथ वरपर ढपक्क फूल फूलेपछि तस्बिर खिच्नलाई भीडभाड हुने गरेको ललितपुर महानगरपालिका–१४ का वडाध्यक्ष अमृत महतले बताए । उनले भने, “हरेक वर्ष यसयाममा फूलको मौसम आउँछ । यसमा युवायुवतीहरू रमाइरहेको देख्दा खुसी लाग्छ ।”

एकै रङमा फूल्ने जाकाराण्डाको इतिहास राणाकालीन समय देखिएको छ । चक्रपथमा रहेका केही रुख बुढा भइसकेका छन् भने केही भर्खर फुल्न सुरु गरेका छन् । चक्रपथलाई शोभनीय बनाउने यस फूललाई ललितपुर महानगरपालिकाले संरक्षण गर्दै आएको छ । यससँगै अन्य प्रजातिका फूलहरूलाई हुर्काउनका लागि महानगरपालिकाले पानी हाल्ने र गोडमेल गर्ने गरेको छ ।

आउने दिनमा चक्रपथको सुन्दरता बढाउन जाकाराण्डा फूलको संरक्षणसँगै अन्य प्रजातिका फूल रोप्ने तयारी रहेको अध्यक्ष महतले बताए। उनले भने, “जाकाराण्डा फूललाई पृष्ठभूमिमा पारेर तस्बिर र भिडियो खिच्नेको सङ्ख्या बढ्दो छ । दिउँसोको चर्को गर्मीमा पनि यात्रीहरू रुखको छहारीमा बसेर रमाइरहेका हुन्छन् । हामी यसलाई अझै व्यवस्थित गर्छौं ।”

बिहान र बेलुकीको समयमा युवायुवतीहरूको बढी चहलपहल हुन्छ । चापागाउँदोबाटो, महालक्ष्मीस्थान, थसीखेल चोक वरपर बढी भीडभाड हुने गरेको छ ।

वसन्तऋतुमा एकै रङमा ढपक्क फूलेको जाकारण्डा फूल देखेपछि मन प्रफुल्ल हुने गरेको फूलको दृष्य अवलोकन गर्न आएका निर्मल लामा बताउनुहुन्छ । ललितपुरको महालक्ष्मीस्थान चोक वरपर मात्र नभएर काठमाडौँ उपत्यकाको रिङरोडभरि यस्तै फूल भएमा काठमाडौँ झन् सुन्दर देखिने उनको भनाइ छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट