चिनियाँ सेनाको अभ्यासमा ‘रोबोट उल्फ’को प्रयोग

चिनियाँ जनमुक्ति सेना (PLA) ले ‘रोबोट उल्फ’ नामक स्वचालित हतियार प्रणालीलाई आफ्नो सैन्य अभ्यासमा समावेश गरेको छ।
ग्लोबल टाइम्सका अनुसार चीनको सेनालाई आधुनिकीकरण गर्न थालिएको पहल अन्तर्गत ‘रोबोट उल्फ’ को प्रयोग गरिएको हो। हिजो सार्वजनिक गरिएको अभ्यासमा चिनियाँ सैनिकहरूले रोबोट वुल्फसँग मिलेर तालिम गरेका थिए।
सीसीटीभीद्वारा सार्वजनिक भिडियोमा ‘रोबोट उल्फ’लाई पहिलो पटक सिँढी चढ्न निर्देशन दिइएको देखिन्छ, जहाँ उक्त रोबोटले साधारण सैनिक सरह सजिलै सिँढी चढेको छ। त्यसपछि पहाडी क्षेत्रमा लगिएको रोबोटले सजिलै आफ्नो अपरेशन जारी राखेको देखिन्छ। त्यसपछि हिउँले ढाकिएको क्षेत्रमा सैनिकसँगै कसरत गर्दा पनि उसले प्रभावकारी रूपमा प्रतिक्रिया दिएको छ।
अभ्यासको क्रममा ‘रोबोट उल्फ’ले प्रतिक्षण गोली प्रहार गर्ने क्षमता देखाएको छ। यसमा क्यूबीजेड–१९१ असल्ट राइफल जडान गरिएको छ, जसले रोबोटलाई स्वतन्त्र रूपमा गोली चलाउन सक्षम बनाउँछ।
करीब ७० किलोग्राम तौल भएको यो यन्त्र चीन साउथ इन्डस्ट्रिज ग्रुप कर्पोरेशनद्वारा निर्माण गरिएको हो। यसलाई विशेषगरी दुर्गम तथा कठिन भौगोलिक क्षेत्रमा लड्न सक्षम बनाइएकाले भविष्यमा चिनियाँ सेनाको महत्त्वपूर्ण हिस्सा बन्ने अनुमान गरिएको छ।
चीनले पहिलो पटक २०२४ मा रोबोट उल्फको अवधारणा सार्वजनिक गरेको थियो। त्यसबेला नै यसको तस्बिरसहित प्रारम्भिक विवरण सार्वजनिक गरिएको थियो।
हाल चीनको जापान, फिलिपिन्स, ताइवान र भारतसँग सिमा विवाद छ भने अमेरिका तथा बेलायतसँग रणनीतिक प्रतिस्पर्धा बढ्दो छ। यस्तो परिस्थितिमा चीनले प्रविधिमा आधारित सैन्य क्षमता अभिवृद्धि गरिरहेको देखिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस