ठगी रोक्न ह्वाट्सएपले नयाँ सुरक्षा फिचर ल्याउँदै
आजकाल आर्थिक अवस्था कमजोर भएका मानिसहरूको फाइदा उठाउँदै ठगी गर्ने अपराधीहरूले नक्कली फ्रेन्ड रिक्वेस्ट र पिरामिड स्किममार्फत धेरैलाई ठग्ने गरेको पाइन्छ। कतिपय पटक यस्ता प्रयास असफल भए पनि अधिकांश अवस्थामा सफल हुने गरेका छन्। पछिल्लो समय ह्वाट्सएप ठगीका लागि निकै प्रयोग हुने एप बनेको छ। यसैले कम्पनीले पनि विभिन्न उपकरण र सुविधाहरू उपलब्ध गराएको छ जसले ठगिबाट जोगिन मद्दत गर्न सक्छ।
ठगीका लागि कल सेन्टर जस्ता संस्था खोलिएको पनि देखिन्छ। यी ग्राहक सेवा भनी परिचित संस्था भित्र केही व्यक्तिहरू जानाजानी वा झुक्याएर काम लगाइरहेका हुन्छन्। मेटा कम्पनीका अनुसार यस्ता गतिविधि विशेष गरी दक्षिणपूर्व एसियामा बढी देखिन्छ।
यस वर्षको पहिलो छ महिनामा, ठगीबाट बचाउन कम्पनीले ठगी केन्द्रसँग जोडिएका ६८ लाखभन्दा बढी खाताहरू पत्ता लगाएर बन्द गरेको जनाएको छ। ठगी केन्द्रहरूले प्रायः क्रिप्टोकरेन्सी लगानीदेखि पिरामिड स्किमसम्म विभिन्न योजनाहरू एकैपटक चलाउँछन्। ठगीको शुरुवात सामान्य टेक्स्ट मेसेज वा डेटिङ एपबाट हुन सक्छ र अन्ततः सामाजिक सञ्जाल, निजी मेसेजिङ एप र भुक्तानी तथा क्रिप्टो प्लेटफर्ममा फैलिन्छ।
त्यस्ता स्किमहरूमा ठगहरूले प्रायः मानिसहरूलाई धेरै फरक–फरक प्लेटफर्ममा लैजान खोज्छन् ताकि कुनै एक ठाउँबाट पूर्ण ठगीको पत्ता लगाउन नसकिने अवस्था बनेर सजिलै जोगिन सकियोस्।
ह्वाट्सएप चाँडै नयाँ सुरक्षा उपकरणहरू थप्दैछ जुन ग्रुपच्याट र व्यक्तिगत च्याट दुबैमा लागू हुनेछन्। ग्रुपच्याटमा प्रयोगकर्ताको कन्ट्याक्ट लिस्टमा नभएको व्यक्तिले नयाँ ग्रुपमा जोड्दा स्क्रीनमा सूचना देखाइनेछ। यसमा ग्रुपबारे जानकारी र सुरक्षित रहने उपायहरू उल्लेख हुनेछन्। प्रयोगकर्ताले ग्रुप च्याट नहेरी नै बाहिरिन सक्नेछन्। यदि ग्रुप च्याट चिनिएका लागेमा हेर्न सकिने सुविधा पनि हुनेछ, तर प्रयोगकर्ताले निर्णय नगरेसम्म ग्रुपमा जोडिने छैनन्।
व्यक्तिगत च्याटमा ठगहरूले अन्य प्लेटफर्मबाट सम्पर्क गरी ह्वाट्सएपजस्ता निजी मेसेन्जरमा च्याट गर्न लगाउने प्रयास गर्ने हुँदा, नयाँ च्याट सुरु हुनु अघि ठगी सम्बन्धी जानकारी दिइनेछ । यी नयाँ फिचरहरू हाल परीक्षण अवस्थामा रहेको कम्पनीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस