चीनमा ‘डार्विन मंकी’ नामक मस्तिष्कजस्तै काम गर्ने कम्प्युटरको परिक्षण
यसअघि २०२० मा विश्वविद्यालयले ‘डार्विन माउस’ नामक यस्तै कम्प्युटर विकास गरेको थियो । त्यसमा १२ करोड एआई न्यूरोन्स मात्र थिए ।

चीनको झेजियाङ विश्वविद्यालयका वैज्ञानिकहरूले ‘डार्विन मंकी’ नामक अत्याधुनिक मस्तिष्कजस्तै काम गर्ने कम्प्युटर विकास गरेका छन्। यस कम्प्युटरमा २० अर्बभन्दा बढी एआई न्यूरोन्स छन्, यसले मानव मस्तिष्कजस्तै सूचना प्रशोधन गर्न सक्छ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार ‘डार्विन मंकी’ ९६० डार्विन–३ चिप्सबाट बनेको हो । यसमा १०० अर्बभन्दा बढी सिनेप्स (न्यूरोन्सबीचको जडान) निर्माण गर्न सकिन्छ। यसको विशेषता भनेको मस्तिष्कजत्तिकै छिटो सूचना प्रशोधन क्षमता र अत्यन्त कम बिजुली खपत हो । सामान्यतया यसले २ हजार वाट मात्र खपत गर्ने गरेको छ ।
यो कम्प्युटरले तार्किक तर्क, गणितीय समस्या समाधान, रोबोटिक्स, डाटा प्रोसेसिङ, चिकित्सा अनुसन्धान तथा न्यूरोसाइन्समा उपयोगी हुने दाबी गरिएको छ । वैज्ञानिकहरूका अनुसार यसले मकाक बाँदर, मुसा, जेब्राफिस जस्ता जनावरहरूको मस्तिष्कको नक्कल गर्न सक्छ । यो अनुसन्धानले मस्तिष्क सम्बन्धी विज्ञान बुझ्न मद्दत पुर्याउनेछ।
‘डार्विन मंकी’ न्यूरोमोर्फिक कम्प्युटिङ प्रविधिमा आधारित छ । यसले सिक्ने, सम्झने र निर्णय गर्ने प्रक्रियामा मानव मस्तिष्कको कार्यविधि नक्कल गर्छ । यसमा स्पाइकिङ न्यूरल नेटवर्क टेक्नोलोजी पनि प्रयोग भएको छ, जसले जैविक न्यूरोन्सजस्तै काम गर्दछ ।
यसअघि २०२० मा विश्वविद्यालयले ‘डार्विन माउस’ नामक यस्तै कम्प्युटर विकास गरेको थियो । त्यसमा १२ करोड एआई न्यूरोन्स मात्र थिए । नयाँ संस्करण ‘डार्विन मंकी’ त्यही प्रविधिको धेरै उन्नत स्वरूप हो, जसमा न्यूरल प्रणाली सुधार र नयाँ अपरेटिङ सिस्टमसमेत समावेश गरिएको छ।
विश्वविद्यालयका प्रोफेसर पान ग्याङका अनुसार यसको डिजाइन र ऊर्जा दक्षताले यसलाई वर्तमान कम्प्युटिङ प्रणालीभन्दा अलग र शक्तिशाली बनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस