रूसले अलग्गै ‘मेसेजिङ एप’ चलाउने, मोबाइल, ट्याब्लेट र ग्याजेटमा अनिवार्य

रूसी सरकारले आफ्नै मेसेजिङ एप ‘मैक्स’ सार्वजनिक गर्दै आगामी सेप्टेम्बर १ देखि अनिवार्य रूपमा प्रयोगमा ल्याउने तयारी गरेको छ।
रूसी सञ्चारमाध्यमका अनुसार अबदेखि रूसमा बिक्री हुने सबै मोबाइल फोन, ट्याब्लेट र अन्य ग्याजेटमा ‘मैक्स’ पूर्वस्थापित गर्नुपर्नेछ। यससँगै एप्पल लगायतका सबै कम्पनीका उपकरणहरूमा रुसको आफ्नै एप स्टोर ‘रुस्टर’ पनि प्रि–इन्स्टल गर्नुपर्ने व्यवस्था गरिएको छ।
सरकारले ‘मैक्स’लाई रूसी सरकारी सेवाहरूसँग एकीकृत गर्ने जनाएको छ। यद्यपि, आलोचकहरूले यसलाई नागरिकको सञ्चारमाथि निगरानी गर्ने प्रयास भएको भन्दै आपत्ति जनाएका छन्।
रूसले विदेशी स्वामित्वका मेसेजिङ प्लेटफर्महरू, विशेषगरी व्हाट्सएप र टेलिग्रामले आतंकवाद तथा जालसाजी सम्बन्धी सूचनामा रूसी प्रहरीसँग सहयोग नगरेको आरोप लगाउँदै आएको छ। त्यसैले वैकल्पिक रूपमा ‘मैक्स’लाई प्रोत्साहन गर्ने मात्र नभई अनिवार्य प्रयोग गर्ने नियम समेत ल्याइएको हो।
यसबाहेक, अर्को वर्ष जनवरी १ देखि रूसमा बिक्री हुने सबै स्मार्ट टिभीमा ‘लाइम एचडी टिभी’ एप पूर्वस्थापित हुनेछ। यसमार्फत रूसी प्रयोगकर्ताले सरकारी टिभी च्यानलहरू निःशुल्क हेर्न सक्नेछन्।
तपाईको प्रतिक्रिया दिनुहोस