सीईओहरूको सुरक्षा गर्न २०२४ मा मात्रै ४५ मिलियन डलर खर्च
सबैभन्दा ठूलो हिस्सा मेटा प्रमुख मार्क जुकरबर्ग र उनको परिवारको सुरक्षामा लागेको हो ।

विश्वका ठूला टेक कम्पनीका प्रमुखहरू अब व्यवसायिक व्यक्तित्व मात्र नभई राजनीति, समाज र जनभावनाको प्रत्यक्ष निशाना बनेका छन् । यसले गर्दा उनीहरूको व्यक्तिगत सुरक्षामा हुने खर्च अचम्मको स्तरसम्म बढेको छ ।
२०२४ मा पाँच ठूला प्राविधिक कम्पनीहरूले आफ्ना सीईओहरूको सुरक्षामा मात्रै ४५ मिलियन अमेरिकी डलर (करिब ६ अर्ब नेपाली रुपैयाँ) खर्च गरेका छन् । सबैभन्दा ठूलो हिस्सा मेटा प्रमुख मार्क जुकरबर्ग र उनको परिवारको सुरक्षामा लागेको हो ।
मार्क जुकरबर्ग (मेटा)
२०२४ मा मेटाले जुकरबर्ग र उनको परिवारको सुरक्षामा करिब ३५३ करोड रुपैयाँ खर्च गर्यो । यसमा क्यालिफोर्नियास्थित निवास सुरक्षा र यात्रा सुरक्षा प्रमुख रहेका छन् ।
एलन मस्क (टेस्ला/स्पेसएक्स)
टेस्लाले २०२३ मा मात्र मस्कको सुरक्षामा करिब ३३ करोड रुपैयाँ खर्च गरेको थियो । मस्क अहिले आफ्नै फाउन्डेसनमार्फत सुरक्षा व्यवस्था मिलाउँछन् र २० अंगरक्षकसहित यात्रामा निस्कने गरेका छन् ।
जेफ बेजोस/एन्डी ज्यासी (अमेजन)
अमेजनले संस्थापक जेफ बेजोसकै समयमा वार्षिक करिब २० करोड रुपैयाँ सुरक्षा खर्च गर्ने गरेको थियो । हालका सीईओ एन्डी ज्यासीको कार्यकालमा पनि सुरक्षा बजेट निरन्तर बढिरहेको छ ।
जेनसन हुवाङ (एनभिडिया)
एआइ नीतिमा प्रत्यक्ष प्रभाव राख्ने एनभिडिया प्रमुख हुवाङको सुरक्षामा २०२४ मा मात्र ४६ करोड रुपैयाँभन्दा बढी खर्च भएको छ । उनको व्यक्तिगत सम्पत्ति २१ अर्ब डलर नाघिसकेको छ ।
जेमी डाइमेन (जेपी मोर्गन)
जेपी मोर्गनका सीईओ डाइमेनको सुरक्षामा २०२४ मा करिब ११ करोड रुपैयाँ खर्च भएको थियो ।
विशेषज्ञहरूका अनुसार अब धम्की केवल व्यवसायिक प्रतिद्वन्द्विता वा असन्तुष्ट कर्मचारीहरूमात्रबाट नभई जनआक्रोश, तथ्याङ्क दुरुपयोग, ठूला कटौती र राजनीतिमा प्रत्यक्ष संलग्नताबाट पनि आउने गरेका छन् । यसले गर्दा सुरक्षा खर्च अब कम्पनीहरूको स्थायी बजेटको हिस्सा बनेको देखिन्छ ।
तपाईको प्रतिक्रिया दिनुहोस