इन्टरनेट कम्पनीहरू धमाधम सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्दै

नेपालमा सूचीकरण (लिस्टिङ) नगरी सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द हुँदै छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणमार्फत इन्टरनेट सेवा प्रदायक (ISP) कम्पनीहरूलाई सूचीकरण नभएका प्लेटफर्म तत्काल बन्द गर्न निर्देशन दिएको हो।
इन्टरनेट सेवा प्रदायकहरूको संगठन (ISPAN) ले यसअघि भदौ १७ गते सरकारलाई पत्र पठाएर यसबारे आवश्यक तयारी भइरहेको जनाएको थियो। संगठनका अध्यक्ष सुधीर पराजुलीका अनुसार प्राधिकरणसँगको समन्वयमा सूचीकरण नगरेका सञ्जाललाई बन्द गर्ने प्रक्रिया सुरु भएको छ।
यसबीच, संगठनले विज्ञप्ति जारी गर्दै ग्राहकलाई हुन सक्ने असुविधाप्रति क्षमा मागेको छ। साथै, सूचीकरण भएका सामाजिक सञ्जाल भने निर्बाध रूपमा चलिरहने स्पष्ट पारेको छ।
मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा यो निर्णय सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को २०८२ भदौ १ गतेको निर्णय र ‘सामाजिक सञ्जाल प्रयोग व्यवस्थापन निर्देशिका–२०८०’ बमोजिम गरिएको उल्लेख छ।
तपाईको प्रतिक्रिया दिनुहोस