खग्रास चन्द्रग्रहण
आज भाद्र शुक्ल पूर्णिमामा खग्रास चन्द्रग्रहण, नेपालबाट प्रत्यक्ष अवलोकन सम्भव छ ?
खग्रास चन्द्रग्रहण हुँदा चन्द्रमा रातो देखिने भएकाले यसलाई ‘ब्लड मुन’ पनि भनिन्छ।

आज आइतबार (भदौ २२ गते, सेप्टेम्बर ७–८) भाद्र शुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लाग्दैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार राति १०:११ बजे ग्रहण स्पर्श भएर ११:१५ बजे सम्मीलन, ११:५६ बजे मध्य, १२:३८ बजे उन्मीलन हुँदै राति १:४१ बजे मोक्ष हुनेछ । खग्रास अवधिमात्र १ घण्टा २३ मिनेट रहने यस ग्रहणको कुल अवधि ३ घण्टा ३० मिनेट हुनेछ।
नेपाल, भारतसहित एसियाका अधिकांश मुलुक, पश्चिम अष्ट्रेलिया र युरोपका करिब ८५ प्रतिशत जनसंख्याले यो दृष्य अवलोकन गर्न सक्नेछन्। मौसम सफा रहेमा काठमाडौंसहित नेपालका विभिन्न स्थानबाट साढे तीन घण्टा लामो ग्रहण प्रत्यक्ष देखिने समितिले जनाएको छ।
खग्रास चन्द्रग्रहण हुँदा चन्द्रमा रातो देखिने भएकाले यसलाई ‘ब्लड मुन’ पनि भनिन्छ। वैज्ञानिक दृष्टिले पृथ्वीको वायुमण्डलले निलो प्रकाशलाई तितरबितर पारेर रातो प्रकाश मात्रै चन्द्रमामा पुग्ने भएकाले चन्द्रमा रातो देखिन्छ।
ज्योतिषीय दृष्टिकोण
ज्योतिष शास्त्रअनुसार यस ग्रहणले राशिअनुसार फरक–फरक प्रभाव पार्ने बताइन्छ।
लाभ हुने : मेष, वृष, कन्या, धनु
हानि हुने/हेर्न नहुने : मिथुन (माननाश), कर्कट (कष्टम्), सिंह (स्त्रीपीडा), तुला (चिन्ता), वृश्चिक (व्यथा), मकर (क्षति), कुम्भ (घात), मीन (व्यय)
विशेष गरी शतभिषा र पूर्वाभाद्रपदा नक्षत्रमा जन्मेका तथा कुम्भ राशिका लागि यो ग्रहण अति कष्टकर मानिएको छ।
के गर्नु हुँदैन?
धार्मिक मान्यता अनुसार ग्रहणभन्दा केही घण्टा अघि नै सुतक लाग्छ । आज दिउँसो १:११ बजेदेखि बालबालिका, वृद्ध र रोगीबाहेक अरूलाई भोजन निषेध गरिएको छ।
ग्रहण अवधिमा:
निषेधित : सुत्ने, खानपिन गर्ने, मैथुन गर्ने, तेल लगाउने, कसैलाई बाँध्ने वा मार्ने
शुभ मानिने : हवन, मन्त्रजप, दान
धर्मसिन्धु, निर्णयसिन्धुजस्ता ग्रन्थमा ग्रहण अवधिमा गलत कर्म गर्दा रोग, दरिद्रता वा अधोगतिजस्ता फल प्राप्त हुने उल्लेख छ।
वैज्ञानिक दृष्टिकोण
खगोलशास्त्रीहरूले भने ग्रहण पूर्णतया प्राकृतिक घटना भएको र यसलाई नाङ्गो आँखाले हेर्दा कुनै हानी नहुने स्पष्ट पारेका छन्। बरु यसलाई विद्यार्थी र खगोलप्रेमीहरूले अध्ययन तथा अनुसन्धानका लागि दुर्लभ अवसरको रूपमा लिन सक्ने बताएका छन्। यस वर्ष अर्को चन्द्रग्रहण फागुन १९ गते मंगलबार (फाल्गुन शुक्ल पूर्णिमा) खण्डग्रास स्वरूप लाग्नेछ।
चन्द्रग्रहण कसरी लाग्छ?
सामान्य अवस्थामा सूर्यको प्रकाश चन्द्रमामा पर्छ र त्यसैको परावर्तनका कारण हामी पृथ्वीबाट चन्द्रमा देख्छौँ। तर जब सूर्य, पृथ्वी र चन्द्रमा एउटै सिधा रेखामा आउँछन्, त्यसबेला पृथ्वी सूर्य र चन्द्रमाबीच पर्दछ। यस क्रममा पृथ्वीको छायाँ चन्द्रमामा परेको कारण चन्द्रमा आंशिक वा पूर्ण रूपमा अँध्यारो देखिन्छ, र यसलाई चन्द्रग्रहण भनिन्छ।

चन्द्रग्रहणका प्रकार
खग्रास (Total Lunar Eclipse) : पृथ्वीको छायाले चन्द्रमालाई पूर्ण रूपमा ढाक्छ।
खण्डग्रास (Partial Lunar Eclipse) : पृथ्वीको छायाले चन्द्रमाको केही भाग मात्र ढाक्छ।
उपछायाग्रास (Penumbral Eclipse) : चन्द्रमा पृथ्वीको उप–छायामा मात्र प्रवेश गर्छ, जसका कारण चन्द्रमा हल्का धमिलो देखिन्छ।
किन रातो (ब्लड मुन) देखिन्छ?
खग्रास चन्द्रग्रहणको बेला सूर्यको निलो प्रकाश पृथ्वीको वायुमण्डलले तितरबितर पारिदिन्छ। तर रातो प्रकाश भने वायुमण्डल हुँदै चन्द्रमामा पुग्छ। त्यसैले पूर्ण चन्द्रग्रहणको समयमा चन्द्रमा रातो रङ्गको देखिन्छ, जसलाई सामान्यतया ‘ब्लड मुन’ भनिन्छ।
तपाईको प्रतिक्रिया दिनुहोस