Techie IT
२०८२ असोज २२, बुधबार

नेपालको पहिलो एआई–सञ्चालित सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक


नेपाललाई डिजिटल रूपमा जोड्दै व्यक्तिदेखि व्यवसायसम्मलाई सशक्त बनाउन एआई प्रविधिद्वारा सञ्चालित नेपालको पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक गरिएको छ।

नेपालमै विकास गरिएको यो प्लेटफर्मले डिजिटल रूपान्तरण, व्यावसायिक सशक्तीकरण र समावेशी प्राविधिक विकासलाई एकैसाथ अघि बढाउने लक्ष्यसहित यात्रा सुरु गरेको हो।

ग्लोबल डायरीका प्रमुख कार्यकारी अधिकृत भगवानदास अग्रहरिका अनुसार, यस प्लेटफर्मले सम्पर्क, व्यापार र अवसरलाई एउटै स्थानमा उपलब्ध गराउँछ। उनले भने, “नेपालकै माटोमा बनेको भए पनि यसको उद्देश्य, कार्यशैली र पहुँच अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार गरिएको छ।”

संस्थाका अध्यक्ष शेखर अर्यालका अनुसार, नेपालको टुक्रिएको डिजिटल प्रणालीलाई एउटै एआई–चालित बहुपक्षीय प्लेटफर्ममार्फत समाधान गर्ने लक्ष्यका साथ ग्लोबल डायरी निर्माण गरिएको हो। यस प्लेटफर्ममा प्रयोगकर्ताले आफ्नो परिचय, व्यवसाय पृष्ठ र व्यावसायिक विवरण सहजै व्यवस्थापन गर्न सक्छन्। यसलाई सस्तो र विस्तारयोग्य (स्केलेबल) बनाइएको छ, जसले साना व्यवसाय र व्यक्तिहरूलाई समेत आधुनिक डिजिटल उपकरण प्रयोग गर्ने अवसर प्रदान गर्नेछ।

व्यक्तिगत प्रयोगकर्ताले आफ्नो सीप, अनुभव, उपलब्धि र पोर्टफोलियो प्रस्तुत गर्न सक्ने भएकाले नेटवर्क विस्तार, रोजगारी र स्वतन्त्र पेसागत अवसर बढ्ने बताइएको छ। यस्तै, साना व्यवसाय, स्टार्टअप र ठूला कम्पनीहरूले विपणन उपकरण, विश्लेषणात्मक सुविधा, ग्राहक संलग्नता प्रणाली र भर्ती मञ्चमार्फत व्यवसाय विस्तार गर्न सक्नेछन्।

देशमै विकास गरिएको यो डिजिटल मञ्चले नेपाली प्रयोगकर्ताको आवश्यकता र राष्ट्रियस्तरको डेटा सुरक्षालाई प्राथमिकता दिने जनाएको छ।

संस्थाका अनुसार, ग्लोबल डायरीले करिब ६० प्रतिशतसम्म डिजिटल खर्च घटाउने, स्थानीय रोजगारी सिर्जना गर्ने, व्यक्तिगत रुचिअनुसारको खोज उपलब्ध गराउने तथा विदेशी डिजिटल मञ्चमा जाने वार्षिक १५० मिलियन अमेरिकी डलरभन्दा बढीको विज्ञापन खर्च रोक्ने लक्ष्य लिएको छ।

यसमा अन्य सामाजिक सञ्जालजस्तै प्रोफाइल प्रदर्शन, व्यवसाय र उत्पादन सूचीकरण, क्युआर कोडमार्फत सम्पर्क आदानप्रदान, समाचार तथा सूचना प्राप्त गर्ने सुविधा उपलब्ध छन्। साथै, एआई–चालित सुझाव प्रणालीमार्फत नेटवर्किङ, रोजगारी र व्यवसाय वृद्धिका लागि उपयुक्त अवसर सिफारिस गर्ने सुविधा पनि रहनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट