आईफोन १७ सिरिजको माग अहिले सम्मकै उच्च, उत्पादन बढाउने तयारी

एप्पलले आईफोन १७ सिरिजको उत्पादन बढाउने तयारी गरेको छ । कम्पनीले सन् २०२५ का लागि तय गरेको प्रारम्भिक अर्डर ८ करोड ६० लाख युनिटबाट बढाएर ९ करोड युनिटभन्दा बढी पुर्याउने योजना बनाएको हो।
उत्पादन वृद्धि मुख्यतया आईफोन १७ प्रो र आईफोन १७ प्रो म्याक्स मोडेलमा केन्द्रित हुने बताइएको छ । तर, लगानी बैंक मोर्गन स्ट्यान्लीका विश्लेषकहरूको अनुमान अनुसार आईफोन एयरको माग भने अपेक्षाभन्दा कम देखिएको छ ।
विश्लेषकहरूका अनुसार आईफोन १७ सिरिजको माग मुख्यतः अति पुराना आईफोन प्रयोगकर्ताबाट आइरहेको छ । अर्को वर्ष यो वर्गका प्रयोगकर्ताहरू अझ बढ्ने अपेक्षा गरिएको छ। उनीहरूको भनाइमा यो प्रवृत्ति आगामी आईफोन १८ र सन् २०२६ को अन्त्यतिर बजारमा आउने फोल्डेबल आईफोनका लागि समेत सकारात्मक हुनेछ ।
एप्पलले अर्को वर्ष करिब २४ करोड ३० लाख आईफोन बिक्री गर्ने अनुमान गरेको छ। यद्यपि, आईफोन फोल्ड र ‘एप्पल इन्टेलिजेन्स’ सुविधाले बजारमा बलियो माग सिर्जना गर्न सकेमा यो संख्या २७ करोड युनिटसम्म पुग्न सक्ने मोर्गन स्ट्यान्लीले अनुमान गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस