एनसेलको भोवाईफाई (Voice over Wi-Fi) सुविधा कसरी प्रयोग गर्ने?
कहिलेकाहीँ मोबाइल नेटवर्क कमजोर हुँदा फोनमा कुराकानी गर्न समस्या हुन्छ ? घर, कोठा वा कार्यालयमा सिग्नल नपुग्दा फोनमा कल काट्न, उठाउन वा आवाज सुनिन गाह्रो हुन सक्छ। तर अब यस्तो चिन्ता लिनु पर्दैन।
एनसेलले भोवाईफाई (Voice over Wi-Fi) सुविधा प्रदान गरेको छ, जसले वाईफाईमार्फत गुणस्तरीय भ्वाइस कल र एसएमएस सेवा दिन्छ।
यो सुविधाले मोबाइल नेटवर्क कमजोर भएको स्थान वा समयमा पनि वाईफाईमार्फत सहजै कल गर्न र प्राप्त कल उठाउन सकिन्छ। यसबाट फोन काटिने, आवाज नसुनिने वा अन्य समस्याहरूबाट मुक्त रहन सकिन्छ। तर वाईफाई सिग्नल बलियो हुन आवश्यक छ।
एनसेलका अनुसार, हाल ३५ हजारभन्दा बढी ग्राहकहरूले यो सेवा प्रयोग गरिरहेका छन्। यो सेवा लिने ग्राहकले अतिरिक्त शुल्क तिर्नुपर्दैन; विद्यमान भ्वाइस र एसएमएस शुल्कमै सेवा उपलब्ध छ।
सेवा कसरी प्रयोग गर्ने?
प्रयोगकर्ताको स्मार्टफोनले VoLTE र भोवाईफाई/वाईफाई कलिङ सपोर्ट गर्छ कि गर्दैन भनेर सुनिश्चित गर्नुपर्छ। फोनको सेटिङमा गई सिमकार्डको मोबाइल नेटवर्क सेटिङभित्र भोवाईफाई वा वाईफाई कलिङ सक्षम गर्नुपर्छ।
एक पटक सक्षम भएपछि, वाईफाई नेटवर्कमा जडान हुँदा एनसेल नम्बरमार्फत सामान्य रूपमा कल गर्न र रिसिभ गर्न सकिन्छ। यदि फोनको सेटिङमा भोवाईफाई वा वाईफाई कलिङ देखिन्छ भने फोनले यो सुविधा सपोर्ट गर्छ भनेर बुझ्न सकिन्छ।
कसरी उपयोगी?
यो सेवा विशेष गरी घरभित्र वा दुर्गम क्षेत्र, जहाँ मोबाइल सिग्नल कमजोर वा नभएको हुन्छ, त्यहाँ अत्यन्त उपयोगी छ। एनसेल भोवाईफाई सेवा अहिले एप्पल आईफोन ८ वा माथिका मोडेल, अनर, जेडटीईका स्मार्टफोन, ६ वटा नथिङ ह्यान्डसेट र ५० भन्दा बढी सामसङ मोडेलहरूमा उपलब्ध छ। साथै, साओमी, ओप्पो र भिभोका डिभाइसमा पनि यो सेवा छिट्टै उपलब्ध गराइने तयारीमा छ।
यो सुविधा सक्रिय भएपछि, मोबाइल नेटवर्कमा फर्कँदा सेवाले स्वतः नेटवर्कमा स्विच हुन्छ र प्रयोगकर्ताले कुनै अवरोध बिना कल र एसएमएस सेवा पाउन सक्छन्।



तपाईको प्रतिक्रिया दिनुहोस