अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध
केही किशोरकिशोरीले प्रतिबन्धले केही समुदायलाई एक्ल्याउने चिन्ता व्यक्त गरेका छन्
अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकाहरूलाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। बुधबारदेखि लागू हुने गरी सरकारले कानुन नै ल्याएर १० प्रमुख सामाजिक सञ्जाल प्ल्याटफर्ममा नाबालकको पहुँच रोक्ने व्यवस्था गरेको हो।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब, एक्स, थ्रेड्स, स्न्यापच्याट, रेडिट, ट्वीच र किकजस्ता प्ल्याटफर्ममा १६ वर्षमुनिका बालबालिकालाई प्रयोग निषेध गरिएको छ।
प्रधानमन्त्री एन्थोनी अल्बानिजले यो कदमलाई ‘अस्ट्रेलियाली अभिभावकहरूले गर्व गर्ने दिन’ भनेर उल्लेख गर्दै भने, ‘यो हाम्रो राष्ट्रले भोग्न लागेको सबैभन्दा ठूलो सामाजिक र सांस्कृतिक परिवर्तनमध्ये एक हो। यसको प्रभाव विश्वभर पर्छ।’
कयौं अभिभावकले पनि सरकारको निर्णयको स्वागत गरेको रोयटर्सले उल्लेख गरेको छ। प्रधानमन्त्री अल्बानिजले बालबालिकाहरूलाई सामाजिक सञ्जालमा समय खर्च गर्नुको सट्टा खेलकुद, संगीत र अध्ययनमा लाग्न आग्रह गरे।
सरकारले कानुनको कार्यान्वयन पक्ष समेत कडाइका साथ लागु व्यवस्था गरेको छ। नयाँ नियम उल्लंघन भएमा बालबालिका वा अभिभावकलाई होइन, प्ल्याटफर्महरूलाई नै कारबाही गरिनेछ। रोयटर्सका अनुसार प्रतिबन्ध तोडिए बालबालिका पहुँच पाउने अवस्थामा ती प्ल्याटफर्महरूलाई झन्डै ५ करोड अस्ट्रेलियन डलरसम्म जरिवाना लाग्न सक्छ।
सामाजिक सञ्जाल कम्पनीहरूले नयाँ खाता खोल्ने प्रयोगकर्ताको उमेर प्रमाणित गर्न सेल्फीमार्फत उमेर अनुमान, आवश्यक परे परिचयपत्र वा बैंक विवरणजस्ता कडा प्रमाण माग्नुपर्नेछ।
नियम लागू हुने सूचना पाउनासाथ धेरै बालबालिकाले ‘गुडबाइ’ भन्दै सामाजिक सञ्जालमा अन्तिम पोस्ट लेखेका छन्। रोयटर्सका अनुसार कानुन लागू हुनु अघि नै करिब १० लाख बालबालिकाले आफ्नो अकाउन्टमा बिदाई सन्देश लेखेका थिए।
यद्यपि केहीले यस निर्णयको विरोध पनि गरेका छन्। ‘अब सामाजिक सञ्जाल छैन, अब विश्वसँग सम्पर्क छैन,’ एक किशोरीले टिकटकमा भनिन्। सामाजिक सञ्जाल बन्द भएपछि #seeyouwhenim16 ह्यासट्याग व्यापक रूपमा चलाइएको छ।
सरकारले बालबालिकाको मानसिक स्वास्थ्यमा सामाजिक सञ्जालका नकारात्मक प्रभाव, गलत सूचना, बदमासी तथा शरीरबारे हानिकारक सामग्रीले बढिरहेको जोखिमका कारण वर्षौँको बहसपछि यो कडा कदम चालेको हो। डेनमार्क, न्यूजिल्यान्ड र मलेसियाजस्ता देशहरूले अस्ट्रेलियाको मोडेल अध्ययन गर्ने संकेत गरेका छन्। इलन मस्कको एक्सले ‘यो हाम्रो रोजाइ होइन, अस्ट्रेलियन कानुनको माग हो’ भन्दै नयाँ नियम मान्ने जनाएको छ।
अध्ययनहरूले देखाएका अनुसार ८ देखि १५ वर्षका ८६ प्रतिशत अस्ट्रेलियाली बालबालिका सामाजिक सञ्जाल प्रयोग गरिरहेका थिए। विज्ञहरूले यसले भविष्यका प्रयोगकर्ताको आधारमै असर पार्ने चेतावनी दिएका छन्।
यद्यपि, केही किशोरकिशोरीले प्रतिबन्धले केही समुदायलाई एक्ल्याउने चिन्ता व्यक्त गरेका छन्। ‘एलजिबिटीक्वियर समुदायका वा विशेष रुचि भएका युवाका लागि यो झनै कठोर हुन सक्छ,’ १४ वर्षीया एनी वाङले भनिन्, ‘धेरैले त्यहीँ आफ्ना भावना पोख्छन्, सहयोग खोज्छन्। यस्ता समूहका लागि मानसिक स्वास्थ्य झन् बिग्रन सक्छ।’



तपाईको प्रतिक्रिया दिनुहोस