Techie IT
२०८२ फागुन १०, आइतबार

१२औँ नेपाल भौगर्भिक सम्मेलन–२०२६ काठमाडौंमा आयोजना हुने


नेपाल भौगर्भिक समाज (NGS) ले हिमाली भुगर्भ तथा पर्वतीय भू-प्रणालीसम्बन्धी अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित कार्यक्रम १२औँ नेपाल भौगर्भिक सम्मेलन (NGC–XII, 2026) आयोजना गर्ने औपचारिक घोषणा गरेको छ।

समाजका अनुसार सम्मेलन सन् २०२६ नोभेम्बर १९ देखि २१ (वि.सं. २०८३ मंसिर ३–५) सम्म काठमाडौंमा आयोजना हुनेछ।
“सुदृढ, दिगो र स्रोत–सुरक्षित विश्वका लागि हिमाली भू–विज्ञानको प्रवर्द्धन” भन्ने मूल नारासहित आयोजना हुने सम्मेलनले हिमालय केन्द्रित भू–विज्ञानलाई विश्वव्यापी वैज्ञानिक बहस र नीतिगत संवादसँग जोड्ने लक्ष्य लिएको छ।

नेपाल भौगर्भिक समाजले आयोजना गर्दै आएको यो सम्मेलन विगत तीन दशकदेखि हिमाली भू–विज्ञानको क्षेत्रमा निरन्तर र प्रभावशाली वैज्ञानिक मञ्चका रूपमा स्थापित हुँदै आएको छ। करिब ३० वर्षअघि पहिलो सम्मेलन आयोजना गरेयता समाजले नियमित रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरू गर्दै आएको छ।

आगामी सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ख्यातिप्राप्त भू–वैज्ञानिक, इन्जिनियर, अनुसन्धानकर्ता, नीतिनिर्माता, विकासकर्मी तथा विद्यार्थीहरूलाई एउटै साझा मञ्चमा ल्याउने उद्देश्य राखेको छ। सम्मेलनको १२औँ संस्करणलाई अझ उच्च अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने लक्ष्यसहित विश्वभरका ४०० भन्दा बढी विज्ञहरूलाई काठमाडौंमा आमन्त्रण गरिएको छ।

नेपाल भौगर्भिक समाजका अध्यक्ष भास्कर खतिवडाले हिमालय पृथ्वीको सबैभन्दा गतिशील भू–क्षेत्रमध्ये एक भएको उल्लेख गर्दै सम्मेलनले सुरक्षित पूर्वाधार विकास, दिगो स्रोत व्यवस्थापन तथा जोखिम न्यूनीकरणमा निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरे। साथै उनले वैज्ञानिक ज्ञानलाई व्यवहारिक नीति र विकास अभ्याससँग जोड्ने महत्वपूर्ण अवसरका रूपमा सम्मेलन रहने बताएका छन् ।

त्यस्तै, सम्मेलन संयोजक डा. अनन्तमान सिंह प्रधानले सम्मेलनलाई शुद्ध वैज्ञानिक छलफलमा मात्र सीमित नराखी अन्तरविषयगत संवाद र सहकार्यको केन्द्र बनाउने लक्ष्य रहेको जानकारी दिए। ऐतिहासिक तथा भू–वैज्ञानिक दृष्टिले महत्वपूर्ण शहर काठमाडौंमा आयोजना हुने यस सम्मेलनले हिमाली भू–विज्ञानको भविष्यको दिशा तय गर्न योगदान पुर्‍याउने उनको भनाइ छ।

सम्मेलनका उद्देश्य

सम्मेलनको मुख्य उद्देश्य नेपाल भौगर्भिक सम्मेलनलाई हिमाली तथा पर्वतीय भू–विज्ञानका लागि विश्वस्तरीय अग्रणी मञ्चका रूपमा स्थापित गर्नु हो। सम्मेलनमा हिमाली भू–बनोट, टेक्टोनिक्स, प्राकृतिक प्रकोप, जलस्रोत, खनिज तथा ऊर्जा स्रोत, जलवायु परिवर्तन, डिजिटल भू–विज्ञानसम्बन्धी नवीनतम अनुसन्धान प्रस्तुत गरिनेछ। साथै वैज्ञानिक र नीतिनिर्माताबीच संवाद सुदृढ गर्ने तथा नयाँ पुस्ताका भू–वैज्ञानिकलाई अनुसन्धानतर्फ प्रेरित गर्ने लक्ष्य लिइएको छ।

नेपाल भौगर्भिक समाजले यो सम्मेलनलाई हिमाली क्षेत्रका साझा चुनौती र समाधानबारे विश्वस्तरीय संवादको मञ्चका रूपमा विकास गर्ने अपेक्षा गरेको छ। बढ्दो प्राकृतिक जोखिमको सन्दर्भमा वैज्ञानिक ज्ञानलाई नीति र व्यवहारमा उतार्नु आजको आवश्यकता रहेको उल्लेख गर्दै समाजले स्वदेशी तथा विदेशी भू–विज्ञानी, अनुसन्धानकर्ता, विद्यार्थी, नीतिनिर्माता तथा सरोकारवालालाई सम्मेलनमा सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट