टिकटकलाई ‘लत लाग्ने’ डिजाइन परिवर्तन गर्न इयूको निर्देशन, नत्र भारी जरिवानाको चेतावनी
टिकटकको लत लाग्ने डिजाइन डिजिटल सेवा ऐनको उल्लङ्घन हो।
युरोपेली संघ (इयू) ले चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल टिकटकलाई आफ्नो प्लेटफर्ममा प्रयोगकर्तालाई ‘लत’ लाग्ने खालका डिजाइनहरू परिमार्जन गर्न निर्देशन दिएको छ। अन्यथा डिजिटल सेवा ऐनअन्तर्गत भारी जरिवानाको जोखिम बेहोर्नुपर्ने चेतावनी इयूले शुक्रबार दिएको हो।
दुई वर्षअघि सुरु गरिएको अनुसन्धानको प्रारम्भिक निष्कर्ष सार्वजनिक गर्दै युरोपेली आयोगले टिकटकले विशेष गरी नाबालिग तथा कमजोर वयस्कहरूमा पर्ने नकारात्मक प्रभाव कम गर्न प्रभावकारी कदम नचालेको जनाएको छ।
अत्यधिक सामग्री प्रदर्शन, स्वचालित रूपमा चल्ने भिडियो, प्रचारात्मक सूचनाहरू तथा अत्यन्तै व्यक्तिगत सिफारिस प्रणालीजस्ता सुविधाले प्रयोगकर्तालाई लामो समयसम्म बाँधेर राख्ने खतरा बढाएको आयोगको निष्कर्ष छ। आयोगका प्रवक्ता थोमस रेग्नियरले भने, “टिकटकको लत लाग्ने डिजाइन डिजिटल सेवा ऐनको उल्लङ्घन हो।”
उनले थपे, “यी सुविधाहरूले विशेष गरी बालबालिकालाई अनुप्रयोग प्रयोग गर्न बाध्य बनाउँछन्, जसले उनीहरूको मानसिक स्वास्थ्य र कल्याणमा गम्भीर जोखिम निम्त्याउँछ। टिकटकले अपनाएका उपायहरू पर्याप्त छैनन्।”
यसप्रति प्रतिक्रिया दिँदै टिकटकका प्रवक्ताले विज्ञप्तिमार्फत आयोगको निष्कर्ष अस्वीकार गरेका छन्। “यी निष्कर्षहरूले हाम्रो प्लेटफर्मबारे स्पष्ट रूपमा गलत र गुणस्तरहीन चित्रण गरेका छन्,” उनले भने, “हामी यसलाई चुनौती दिन आवश्यक सबै कानुनी कदम चाल्नेछौँ।”
तथ्यांक संरचना र ‘अल्गोरिदम’ नियमन ठूला प्रविधि कम्पनीहरूको ज्यादती रोक्न इयूले पछिल्ला वर्षहरूमा अपनाएको कडा कानुनी संयन्त्रको हिस्सा हो। अधिकारीहरूका अनुसार अहिलेसम्म टिकटकले इयूका डिजिटल नियामकहरूसँग सहयोग गर्दै आएको थियो।
आयोगले टिकटकलाई आफ्नो प्रारम्भिक निष्कर्षमा पहुँच दिइने जनाएको छ, ताकि कम्पनीले आरोपहरूको प्रतिवाद गर्न सकियोस्।



तपाईको प्रतिक्रिया दिनुहोस