Techie IT
२०८२ माघ २५, आइतबार

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध, सामाजिक सञ्जाल दुरुपयोग गर्नेमाथि कडा निगरानी


सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ । केन्द्रीय सुरक्षा समितिले निर्वाचन अवधिभर ड्रोन प्रयोग निषेध गर्ने निर्णय गरिसकेको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले जानकारी दिए ।

उनका अनुसार पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अत्याधुनिक युनिटलाई थप प्रभावकारी बनाइनेछ । निर्वाचन आचारसंहिता उल्लंघन हुने गरी मिथ्या, भ्रमपूर्ण तथा घृणास्पद अभिव्यक्ति दिने व्यक्तिमाथि निगरानी बढाइएको पनि उनले बताए ।

प्रवक्ता काफ्लेका अनुसार निर्वाचन विरोधी गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्रले कडा निगरानी गरिरहेको छ । साथै, निर्वाचन सुरक्षाका लागि प्रहरीको बीमा, सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान तथा आवश्यक प्रबन्ध मिलाउने तयारीसमेत भइरहेको छ ।

गृह मन्त्रालयले सबै सुरक्षा संयन्त्र र प्रशासनिक निकायलाई निर्वाचन सुरक्षामा कुनै कमजोरी हुन नदिन तथा चुस्त व्यवस्थापनमा जुट्न निर्देशन दिइसकेको उनले जानकारी दिए ।

यसैबीच, गृहमन्त्री ओमप्रकाश अर्यालले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ अनुसार जिम्मेवार निकायहरूले गरिरहेका कार्य, जनशक्ति परिचालन तथा बन्दोबस्ती योजनाको समीक्षा गर्दै थप प्रभावकारी व्यवस्था गर्न निर्देशन दिएका छन् ।

मन्त्रालयले सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बन्न आग्रह गर्दै मिथ्या, भ्रमपूर्ण वा कसैलाई लाञ्छना लगाउने सूचना प्रवाह नगर्न चेतावनी दिएको छ । यस्ता गतिविधिमा संलग्नलाई कानुनी कारबाही गरिने स्पष्ट गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट