आकाशगङ्गाको केन्द्रको पहिलो थ्री-डी नक्सा सार्वजनिक
अन्तरिक्ष वैज्ञानिकहरूले हाम्रो आकाशगङ्गाको केन्द्रमा रहेको ग्यास र धुलोको विशाल साम्राज्यको पहिलो पूर्ण र स्पष्ट तस्बिर सार्वजनिक गरेका छन्। अन्तर्राष्ट्रिय परियोजना एसेसले तारा र ग्रहहरू निर्माण हुने कच्चा पदार्थको वितरणलाई थ्री-डी प्रविधिमा देखाएको छ।
यसअघि आकाशगङ्गाका साना टुक्राहरूको अध्ययन मात्र हुने गरेकोमा, यस पटक पहिलो पटक पूरै केन्द्रको टप-डाउन नक्सा तयार भएको हो। लिभरपुल जोन मोर्स युनिभर्सिटीका प्रोफेसर स्टिभन लङमोरका अनुसार, यो सफलता यस्तो छ जस्तै एउटा ठूला सहरको फरक-फरक कुनाको फोटो खिच्नुको साटो हेलिकप्टरबाट सहरको सम्पूर्ण नक्सा तयार पार्नु।
यस नक्साले आकाशगङ्गाको मध्य भागमा रहेको सेन्ट्रल मोलिकुलर जोनको वास्तविक अवस्था चित्रण गरेको छ। यो क्षेत्र पृथ्वी नजिकका क्षेत्रभन्दा धेरै तातो, सघन र उथलपुथलपूर्ण छ।
निलो र रातो रङको रहस्य
सार्वजनिक नक्सामा देखिएका रङहरू मानव आँखाले देख्न सक्ने वास्तविक रङ होइनन्। वैज्ञानिकहरूले ग्यासको गति र रासायनिक संरचना बुझ्न विभिन्न रङ प्रयोग गरेका छन्।
रातो रङ: विशाल ग्यासका बादलहरू एकआपसमा ठोक्किँदा भएको हलचल।
निलो रङ: शान्त र स्थिर क्षेत्रको संकेत।
ग्यासका अणु र ब्ल्याक होलको प्रभाव
नक्सामा ७० भन्दा बढी विभिन्न प्रकारका अणुहरू फेला परेका छन्, जसमा हाइड्रोजनदेखि लिएर मिथानोल र इथानोल जस्ता जटिल जैविक यौगिकहरू समावेश छन्।
आकाशगङ्गाको केन्द्रमा हाम्रो सूर्यभन्दा करिब ४० लाख गुणा ठुलो स्याजिटेरियस ए-स्टार नामक भीमकाय ब्ल्याक होल रहेको छ। जस्तै बाथटबको पानी प्वालबाट भित्र जानुअघि वरिपरि घुम्छ, त्यसैगरी ग्यासका बादलहरू पनि ब्ल्याक होल वरिपरि घुमिरहेका छन्। वैज्ञानिकहरूले यो क्षेत्रलाई अर्बौँ वर्षअघिको ब्रह्माण्डको प्रतिकृति भनेका छन्।
प्रोफेसर लङमोरका अनुसार, यो क्षेत्र ब्रह्माण्डले दिएको प्राकृतिक प्रयोगशाला जस्तो हो। करिब साढे चार अर्ब वर्षअघि हाम्रो सौर्यमण्डल बन्ने क्रममा रहेको ग्यासको अवस्था अहिले आकाशगङ्गाको केन्द्रमा देखिएको ग्याससँग मिल्दोजुल्दो छ। यस नक्साको अध्ययनबाट वैज्ञानिकहरूले पृथ्वी र सौर्यमण्डल कसरी बने, र जीवनका लागि आवश्यक प्रोटिन बनाउने तत्त्वहरू कहाँबाट आएका भन्ने कुरा पत्ता लगाउने आशा गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस