Techie IT
२०८३ वैशाख १८, शुक्रबार

एआईको अत्यधिक प्रयोगले कानुन व्यवसायीहरूको सृजनशीलतामा ह्रास आयो - अध्यक्ष प्रा. डा मिश्र


नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले कानुन व्यवसाय र न्याय सम्पादनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रभावलाई समयानुकूल ढंगले आत्मसात गर्नुपर्नेमा जोड दिएका छन्।

नेपाल बार एसोसिएसन युवा समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले प्रविधिमैत्री न्याय प्रणाली आजको आवश्यकता भएको बताए। साथै, कानुन व्यवसायीहरूको व्यावसायिक मर्यादा र अनुशासनप्रति बार काउन्सिल गम्भीर रहेको उल्लेख गर्दै पछिल्लो समय सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरूमा देखिएको अराजक अभिव्यक्ति र व्यवहारलाई नियमन गर्न काउन्सिलले छुट्टै एकाइ गठन गरी अनुगमन सुरु गरेको जानकारी दिए।

अध्यक्ष मिश्रले एआईको अत्यधिक प्रयोगले कानुन व्यवसायीहरूमा आलस्यता बढ्न सक्ने र सृजनशीलतामा ह्रास आउन सक्ने भन्दै सचेत गराए। फिराद पत्र, प्रतिउत्तर र बहस नोटहरू आफ्नै बौद्धिक सिर्जना हुनुपर्नेमा जोड दिँदै उनले एआईलाई केवल ‘सहयोगी औजार’ का रूपमा प्रयोग गर्न सुझाव दिए। 

एआईमार्फत तयार पारिएका मस्यौदाहरू हुबहु नक्कल गर्दा कानुनी जोखिम र क्षतिपूर्तिसम्मको अवस्था आउन सक्ने भन्दै आचारसंहिता पुनरावलोकन समितिले यसबारे काम गरिरहेको जानकारी पनि उनले दिए।

अदालतका नयाँ भवन निर्माण गर्दा बारका लागि पर्याप्त स्थान नछुट्याइएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले राज्यले बार प्रणालीलाई अपेक्षित महत्व नदिएको गुनासो गरेका छन् । साथै, राज्य संयन्त्रमा अंग्रेजी भाषाको बढ्दो प्रयोगले नेपाली भाषाको मौलिकता र अस्तित्वमा पर्न सक्ने असरबारे पनि उनले चिन्ता व्यक्त गरे।

कानुन व्यवसायीहरूलाई प्रविधिमैत्री बनाउन बार काउन्सिलले आगामी सोमबारदेखि एआईसम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जानकारी दिँदै उनले युवा समितिलाई यस्ता रचनात्मक तथा तालिममूलक कार्यक्रमलाई निरन्तरता दिन निर्देशन दिएका छन्। 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट