Techie IT
२०८३ जेष्ठ १७, आइतबार

एप्पललाई टक्कर दिन माइक्रोसफ्ट र एनभिडियाको महागठबन्धन: एआई प्रविधियुक्त 'नयाँ युगको पीसी' आउँदै


आर्टिफिसियल इन्टेलिजेन्स (AI) चिप निर्माता अग्रणी कम्पनी एनभिडिया र प्रविधि जगतको विशाल संस्था माइक्रोसफ्टले आगामी साता नयाँ विन्डोज कम्प्युटरहरू बजारमा ल्याउने तयारी गरेका छन्।

अमेरिकी सञ्चारमाध्यम ‘एक्सियोस’ ले व्यावसायिक स्रोतहरूलाई उद्धृत गर्दै सार्वजनिक गरे अनुसार, यी नयाँ कम्प्युटरहरूमा पहिलो पटक एनभिडियाको चिपलाई नै मुख्य प्रोसेसर (CPU) को रूपमा प्रयोग गरिनेछ।

एनभिडियाद्वारा सञ्चालित यी कम्प्युटरहरू माइक्रोसफ्टको आफ्नै ‘सर्फेस’ ब्रान्डका साथै डेल जस्ता अन्य स्थापित पीसी उत्पादक कम्पनीहरू मार्फत बजारमा उपलब्ध हुनेछन्। एनभिडियाले माइक्रोसफ्ट विन्डोज अपरेटिङ सिस्टमका लागि ‘आर्म’ (ARM) प्रविधिमा आधारित प्रोसेसर निर्माण गर्ने योजना सन् २०२३ देखि नै बनाउँदै आएको थियो।

हाल विन्डोज ल्यापटपका लागि क्वालकमले आर्म-आधारित प्रोसेसर आपूर्ति गरिरहेको छ भने परम्परागत कम्प्युटर बजारमा इन्टेल (Intel) र एएमडी (AMD) को वर्चस्व रहँदै आएको छ। एनभिडियाको प्रवेशले यो समीकरण बदल्ने अनुमान गरिएको छ।

लामो समयदेखि शक्तिशाली ब्याट्री ब्याकअप र कम ऊर्जा खपत गर्ने चिपहरूमा 'सिफ्ट' हुन प्रयासरत माइक्रोसफ्टका लागि यो साझेदारी रणनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिएको छ। यस क्षेत्रमा उसको मुख्य प्रतिस्पर्धी एप्पल निकै अगाडि देखिन्छ, जसले आफ्नै आन्तरिक चिपसेट प्रयोग गरेर यसै वर्षको मार्च महिनामा नवीनतम ‘एम५-सिरिज’ (M5-series) चिप भएका नयाँ म्याकबुकहरू बजारमा ल्याइसकेको छ।

एप्पलको सोही ब्याट्री ब्याकअप र उच्च कार्यक्षमताको अग्रतालाई कडा टक्कर दिन माइक्रोसफ्टले एनभिडियासँग यो बलियो सहकार्य अघि बढाएको हो। यी नयाँ कम्प्युटरहरू ताइवानमा आयोजना हुने ‘कम्प्युटिक्स’ ट्रेड शो र स्यान फ्रान्सिस्कोमा हुने माइक्रोसफ्टको ‘बिल्ड’ डेभलपर कन्फरेन्समा औपचारिक रूपमा अनावरण गरिनेछन्।

विन्डोज, एनभिडिया र आर्म कम्पनीको आधिकारिक सामाजिक सञ्जाल एकाउन्टहरूले ताइवानको राजधानी ताइपेईको लोकेसनसहित ‘पीसीको नयाँ युग’ (New Era of PC) घोषणा गर्दै यसको स्पष्ट सङ्केत दिइसकेका छन्।

यसका साथै, माइक्रोसफ्टले यी कम्प्युटरहरूमा इन्टरनेट वा क्लाउडको सहायता बिना नै डिभाइसभित्रै जटिल कार्यहरू गर्न सक्ने अत्याधुनिक एआई एजेन्ट सफ्टवेयर पनि पहिलो पटक समावेश गर्ने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट