Techie IT
२०८३ असार १, सोमबार

कतै तपाईंको मोबाइलमा पनि 'कनेक्ट आईपीएस' को नक्कली एसएमएस त आएन?


नेपाल टेलिकमको एसएमएस (SMS) सेवाको दुरुपयोग गर्दै 'कनेक्ट आईपीएस' (ConnectIPS) लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवा प्रदायकको नाममा व्यापक भ्रामक सन्देशहरू पठाई ठगी गर्ने गिरोह सक्रिय भएको पाइएको छ। यस्ता शंकास्पद गतिविधि बढेपछि टेलिकमले आफ्ना ग्राहकहरूलाई उच्च सतर्कता अपनाउन गम्भीर आग्रह गरेको छ।

ठगी गर्ने गिरोहले सर्वसाधारणको मोबाइलमा 'तपाईंको खाता निलम्बन (Suspend) भएको', 'अस्थायी रूपमा बन्द भएको' वा 'केही समस्या देखिएको' भन्दै त्रास फैलाउने खालका एसएमएस पठाउने गरेका छन्। त्यसपछि खाता सुचारु गर्ने बहानामा सन्देशमै एउटा शंकास्पद वेबसाइट वा लिंक (URL) राखेर त्यसमा क्लिक गर्न ग्राहकहरूलाई बाध्य पार्ने गरेको पाइएको छ।

नेपाल टेलिकमले यस्ता फर्जी एसएमएस, फोन कल तथा भ्रामक लिंकहरूबाट टाढै रहन उपभोक्तालाई सचेत गराएको छ। कुनै पनि भुक्तानी वा बैंक खाता सम्बन्धी सन्देश आएमा, त्यस्ता लिंक प्रयोग गर्नुअघि सम्बन्धित बैंक वा वित्तीय संस्थाको आधिकारिक वेबसाइट र मोबाइल एपमार्फत मात्र जानकारी प्रमाणित गर्न कम्पनीले अनुरोध गरेको छ।

कम्पनीले ग्राहक सुरक्षाका लागि जारी गरेका मुख्य सुझावहरू:
- लिंकमा क्लिक नगर्नूस्: अपरिचित व्यक्ति वा नम्बरबाट आएका कुनै पनि शंकास्पद लिंकहरू खोल्ने गल्ती नगर्नूस्।
- विवरण साझा नगर्नूस्: आफ्नो बैंक खाताको ओटीपी (OTP), पासवर्ड, पीन (PIN) र कार्डको पछाडि रहने सीभीभी (CVV) जस्ता संवेदनशील विवरण कसैलाई पनि नदिनूस्।
- तुरुन्त उजुरी गर्नुस्: यदि तपाईंको मोबाइलमा यस्ता शंकास्पद एसएमएस वा कल आएमा तत्काल सम्बन्धित वित्तीय संस्था वा बैंकलाई जानकारी गराउनूस्।

ग्राहकहरूको डिजिटल सुरक्षा र वित्तीय गोपनीयता आफ्नो प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै नेपाल टेलिकमले प्रविधिको दुरुपयोग गरी भइरहेका यस्ता वित्तीय अपराधबाट बच्न र सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अपिल गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट