Techie IT
२०८३ असार ४, बिहीबार

एप्पलका उत्पादनहरू थप महँगिने कुकको घोषणा, आईफोन १८ प्रभावित हुने

गत सेप्टेम्बरमा सार्वजनिक भएको आईफोन १७ पछि एप्पलका उत्पादनहरूको लोकप्रियता थप बढेको छ


विश्व प्रसिद्ध प्रविधि कम्पनी एप्पलले आफ्ना उत्पादनहरूको मूल्य बढाउने योजना बनाएको छ। प्रयोग हुने मेमोरी चिपहरूको लागत तीव्र रूपमा बढेपछि मूल्य बढाउनुको विकल्प नभएको कम्पनीका प्रमुखले स्पष्ट पारेका छन्।

एप्पलका निवर्तमान मुख्य कार्यकारी अधिकृत (सीईओ) टिम कुकले ‘द वाल स्ट्रिट जर्नल’ सँगको कुराकानीमा मेमोरी चिपको बजार अस्थिर र अनिश्चित बनेकाले मूल्यवृद्धि ‘अपरिहार्य’ भएको बताए। यद्यपि, उनले यो मूल्यवृद्धि कहिलेदेखि लागू हुने र कुन-कुन उत्पादनमा कति प्रभाव पर्ने भन्नेबारे विस्तृत विवरण भने खुलाएनन्। आगामी सेप्टेम्बरमा सार्वजनिक हुने भनिएको ‘आईफोन १८’ मा यसको असर पर्छ वा पर्दैन भन्ने पनि अझै स्पष्ट भइसकेको छैन।

स्मार्टफोन तथा कम्प्युटरका लागि मेमोरी चिप अत्यावश्यक अङ्ग हो। तर, पछिल्लो समय कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकास र मागका कारण यस्ता चिपको मूल्य आकाशिएको छ। "हामी लागत वृद्धिबाट ग्राहकलाई जोगाउने प्रयास गरिरहेका थियौँ, तर अब अवस्था असहनीय बनेको छ," कुकले भने, "एकातिर माग बढिरहेको छ, अर्कोतिर आपूर्ति सीमित छ। त्यसैले चिप उत्पादकहरूले ठुलो मूल्य वृद्धि गरिरहेका छन्।"

कुकले आगामी सेप्टेम्बरमा आफ्नो १५ वर्षको कार्यकाल पूरा गरी बिदा हुन लागेको र उनको स्थानमा जोन टर्नस एप्पलको नयाँ सीईओ बन्ने जानकारी समेत दिए। उनले थपे, "उपभोक्ता उत्पादनका लागि मेमोरीको मूल्य र आपूर्ति फेरि सामान्य स्तरमा आउनु आवश्यक छ, अहिलको मुख्य चुनौती नै यही हो।"

चिप उद्योगमा देखिएको यो सङ्कटबारे चेतावनी दिने एप्पल एक्लो कम्पनी भने होइन। यसै महिना बीबीसीसँगको अन्तर्वार्तामा विश्वकै ठुलो चिप निर्माता कम्पनी 'ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी' (टियसएमसि) ले पनि लागत बढेकाले मूल्य बढाउनुपर्ने अवस्था आउन सक्ने सङ्केत गरेको थियो। टियसएमसिले एप्पल, एनभिडिया र एएमडी जस्ता विशाल प्रविधि कम्पनीहरूका लागि अत्याधुनिक चिपहरू उत्पादन गर्दछ। यसअघि सामसुङले पनि मेमोरी चिपको आपूर्ति अभावका कारण इलेक्ट्रोनिक उपकरणहरूको मूल्य बढ्ने प्रक्षेपण गरेको थाहा भएको थियो।

प्रविधि बजारमा सामान्यतया सबैभन्दा सस्तो कम्पोनेन्ट मानिने ‘राम’ (RAM) को मूल्य अक्टोबर २०२५ पछि दोब्बरभन्दा बढी भइसकेको छ। एआईको बढ्दो मागका साथै इरान युद्धका कारण सेमिकन्डक्टर उत्पादनमा प्रयोग हुने महत्त्वपूर्ण ग्यास 'हिलियम' को विश्वव्यापी आपूर्ति शृङ्खला खलबलिनु नै चिप महँगिनुको मुख्य कारण हो।

मूल्यवृद्धिको दबाबका बीच बजारमा एप्पलको व्यापार भने बलियो देखिएको छ। गत सेप्टेम्बरमा सार्वजनिक भएको आईफोन १७ पछि एप्पलका उत्पादनहरूको लोकप्रियता थप बढेको छ। विशेष गरी चीनमा बढ्दो मागका कारण सन् २०२६ को पहिलो तीन महिनामा एप्पलको बिक्री अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७ प्रतिशतले वृद्धि भएको छ। यस वर्षको सुरुमा कम्पनीले आफ्नो म्याक मिनी (Mac Mini) कम्प्याक्ट कम्प्युटरको मूल्यमा करिब २०० अमेरिकी डलरले वृद्धि गरिसकेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट