सन् २०५० सम्म ८० प्रतिशत विद्युत् सौर्य र वायुबाट उत्पादन हुने
आगामी दशकमा नवीकरणीय ऊर्जामा आधारित विद्युतीकरणलाई तीव्र बनाउनु मुख्य प्राथमिकता हुनुपर्ने अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (आइरेना) ले जनाएको छ। एजेन्सीद्वारा सार्वजनिक ‘विश्व ऊर्जा संक्रमण दृष्टिकोण २०२६’ प्रतिवेदनले सन् २०३५ सम्म ऊर्जा प्रणालीमा व्यापक सुधार गर्दै स्वच्छ, किफायती र प्रतिस्पर्धी ऊर्जाको विकासमा जोड दिएको छ।
सन् २०२५ मा नवीकरणीय ऊर्जा उत्पादन क्षमतामा कीर्तिमानी वृद्धि भए तापनि विद्युत् प्रसारण तथा वितरण पूर्वाधारको विस्तार त्यसअनुरूप हुन नसकेको प्रतिवेदनमा उल्लेख छ। ऊर्जाको माग तीव्र रूपमा बढिरहेको र ऊर्जा दक्षतामा अपेक्षित सुधार नभएकाले नवीकरणीय ऊर्जा विस्तारसँगै विद्युतीकरणलाई पनि द्रुत गतिमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याइएको छ। यसका लागि हाल ५.२ टेरावाट रहेको विश्वको कुल जडित नवीकरणीय ऊर्जा क्षमतालाई सन् २०५० सम्म बढाएर करिब ३८.२ टेरावाट पुर्याउनुपर्ने लक्ष्य राखिएको छ।
प्रतिवेदन अनुसार अन्तिम ऊर्जा खपतमा विद्युत्को हिस्सा सन् २०३५ सम्म ३५ प्रतिशत र सन् २०५० सम्म ५० प्रतिशतभन्दा बढी पुर्याउने रणनीति लिइएको छ, जसमा सन् २०५० सम्म विश्वको ८० प्रतिशतभन्दा बढी विद्युत् सौर्य र वायु ऊर्जाबाट मात्रै उत्पादन हुने अनुमान छ।
आइरेनाका महानिर्देशक फ्रान्सेस्को ला कामेराले उत्पादन वृद्धि मात्रै पर्याप्त नहुने भन्दै ऊर्जा दक्षता, प्रसारण सञ्जाल, भण्डारण र प्रणालीको लचकतामा एकसाथ लगानी एवं सुधार आवश्यक रहेको बताएका छन्। उनका अनुसार नयाँ ऊर्जा प्रणाली पूर्ण रूपमा विद्युतीकृत, दक्ष, लचिलो र नवीकरणीय ऊर्जामा आधारित हुनुपर्छ। १.५ डिग्री सेल्सियस तापक्रम वृद्धिसँग अनुकूल परिदृश्य अनुसार सन् २०५० सम्म विश्व अर्थतन्त्र सामान्य अवस्थाको तुलनामा वार्षिक १.१ प्रतिशत बढीले विस्तार भई समाजले कुल ४६ ट्रिलियन अमेरिकी डलर बराबरको लाभ प्राप्त गर्ने अनुमान गरिएको छ।
ऊर्जा संक्रमणले आर्थिक लाभका साथै रोजगारीका अवसरसमेत सिर्जना गर्ने प्रतिवेदनमा उल्लेख छ। नवीकरणीय ऊर्जा क्षेत्रमा रोजगारी हालको १ करोड ६० लाखबाट पाँच गुणाभन्दा बढी बढ्नेछ भने विद्युत् बजार थप प्रतिस्पर्धी बन्दा सन् २०५० सम्म अन्तिम उपभोक्ताले तिर्ने विद्युत् महसुल १५ प्रतिशतसम्म सस्तो हुनसक्छ। यी लक्ष्य हासिल गर्न सन् २०२६ देखि २०५० सम्म वार्षिक औसत १०.३ ट्रिलियन अमेरिकी डलर लगानी आवश्यक पर्नेछ, जसको ठूलो हिस्सा उत्पादन, प्रसारण सञ्जाल र विद्युतीकरण विस्तारमा खर्च हुनेछ।
एकीकृत ऊर्जा योजना, प्रसारण सञ्जालको आधुनिकीकरण र अन्तर्राष्ट्रिय सहकार्यलगायतका सात प्रमुख प्राथमिकता निर्धारण गर्दै आइरेनाले ऊर्जा संक्रमणलाई व्यवस्थित रूपमा अघि बढाउन सके यसले दीर्घकालीन समृद्धि र जनस्वास्थ्यमा उल्लेख्य योगदान पुर्याउने निष्कर्ष निकालेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस