Techie IT
२०८३ कार्तिक ७, शुक्रबार

बाक्लो बादलमुनिको शुक्र ग्रह कस्तो छ?


Surface temperatures on Venus are soaring over 465°C (869°F). Credit: Venera 13 Lander / Soviet Space Program (1982)

शुक्र ग्रह (भिनस) पृथ्वीबाट हेर्दा आकाशमा सबैभन्दा चम्किलो र सुन्दर पिण्डहरूमध्ये एक हो। तर, यो सौन्दर्यको पछाडि एउटा रहस्यमयी र अत्यन्तै भयानक संसार लुकेको छ। बाक्लो बादलले सर्वत्र ढाकिएको यो ग्रहको सतहमा वास्तवमा के छ? त्यहाँको जमिन कस्तो होला? चट्टान छन् कि धुलो मात्रै? आजभन्दा करिब ५१ वर्षअघिसम्म वैज्ञानिकहरूसँग यी प्रश्नहरूको कुनै स्पष्ट जवाफ थिएन।

तर, सन् १९७५ अक्टोबर २२ का दिन सोभियत संघले पठाएको एउटा अन्तरिक्ष यन्त्रले यो भ्रमलाई चिर्दै इतिहास रच्यो। सोभियत संघले पठाएको 'भेनेरा–९' (Venera-9) नामक अन्तरिक्ष यन्त्र शुक्र ग्रहको सतहमा अवतरण गर्‍यो। अत्यन्तै प्रतिकूल वातावरणका कारण यो यन्त्रले जम्मा ५३ मिनेट मात्रै सम्पर्क कायम राख्न सकेको थियो तर त्यही छोटो अवधिमा यसले पृथ्वीमा एक ऐतिहासिक तस्बिर पठायो। यो पृथ्वीबाहेक अन्य कुनै पनि ग्रहको सतहबाट खिचेर पठाइएको मानव इतिहासकै पहिलो तस्बिर थियो।

त्यो तस्बिरमा कुनै अनौठो वा रहस्यमय वस्तु थिएन, तर त्यसले मानिसलाई चकित बनायो। तस्बिरमा जमिनमा साना–ठूला चट्टानहरू छरिएका थिए, कतिपय ढुङ्गाहरू माटोमा आंशिक रूपमा पुरिएका देखिन्थे र केही टाढा क्षितिजको रेखा पनि प्रस्ट झल्किन्थ्यो। पहिलो नजरमा त्यो दृश्य पृथ्वीको कुनै निर्जन पहाडी भूभागजस्तै लाग्थ्यो, तर त्यो करोडौं किलोमिटर टाढाको शुक्र ग्रहको धरातल थियो।

शुक्र ग्रहको नर्क समान वातावरण
शुक्र ग्रह आकार र संरचनाका हिसाबले पृथ्वीसँग मिल्दोजुल्दो हुने भएकाले यसलाई 'पृथ्वीको जुम्ल्याहा ग्रह' पनि भनिन्छ। तर, यहाँको वातारण पृथ्वीभन्दा ठीक विपरीत र अत्यधिक कष्टकर छ ।

प्रचण्ड तापक्रम: शुक्रको वायुमण्डलमा मुख्यतया कार्बन डाइअक्साइड रहेको छ, जसले गर्दा शक्तिशाली हरितगृह प्रभाव उत्पन्न हुन्छ। यहाँको औसत सतही तापक्रम करिब ४६७ डिग्री सेल्सियस छ, जुन सिसा पग्लिने तापक्रमभन्दा पनि बढी हो।

अत्याधिक चाप: यहाँको वायुमण्डलीय चाप पृथ्वीको समुद्री सतहको तुलनामा करिब ९३ गुणा बढी छ (अर्थात पानीमुनि ९०० मिटर गहिराइमा अनुभव हुने चाप जस्तै)।

एसिडको वर्षा: ग्रहको आकाश सल्फ्युरिक एसिडका थोपा भएको बाक्लो बादलले ढाकेको छ।

यस्तो असह्य वातावरणमा सामान्य विद्युतीय उपकरण केही सेकेन्डमै नष्ट हुन्छन्। त्यसैले सोभियत वैज्ञानिकहरूले भेनेरा–९ लाई अत्यधिक तापक्रम र चाप थेग्न सक्ने विशेष सुरक्षात्मक कवच र प्यारासुटसहित तयार पारेका थिए।

थप अभियानहरू (भेनेरा–१० र १३)
भेनेरा–९ ले एकै दिनमा दुई ठूला सफलता हात पारेको थियो। यसको मुख्य यान शुक्रको कक्षमा पुग्ने पहिलो यान बन्यो भने अवतरण यन्त्रले सतहको पहिलो तस्बिर पठाएर इतिहास रचेको थियो।

यसको तीन दिनपछि सन् १९७५ अक्टोबर २५ मा अर्को यान 'भेनेरा–१०' ले पनि सफलतापूर्बक अवतरण गरी ६५ मिनेटसम्म तथ्यांक पठायो। त्यसपछि सन् १९८२ मार्च १ मा अवतरण गरेको 'भेनेरा–१३' ले त शुक्र ग्रहको सतहका पहिलो रंगीन तस्बिरहरू र त्यहाँ चलेका हावाको आवाज (ध्वनि) समेत रेकर्ड गरेर पृथ्वीमा पठाएको थियो।

सोभियत संघका यी ऐतिहासिक अभियानहरूसूत्रपात गरेको शुक्र अन्वेषणको यात्रा हाल फेरि चर्चामा आएको छ। रुसले सन् २०३६ सम्ममा 'भेनेरा–डी' (Venera-D) नामक बहु-सञ्चालित (ल्यान्डर, बेलुन र ओर्बिटरसहितको) नयाँ मिसन फेरि शुक्र ग्रहमा पठाउने तयारी गरिरहेको छ।

अमेरिकाको नासा (VERITAS र DAVINCI मिसनहरू), युरोपेली अन्तरिक्ष एजेन्सी (ESA) को 'एनभिजन' तथा भारतको आगामी शुक्र मिसनले पनि यस रहस्यमय ग्रहको उत्पत्तिको बारेमा थप अध्ययन गर्ने योजना बनाइरहेका छन्।

५१ वर्षअघि भेनेरा–९ ले पठाएका ती धमिल्या श्यामश्वेत तस्बिरहरूले नै मानवलाई सौर्यमण्डलका अन्य कडा ग्रहहरूको सतहसम्म पुग्न प्रेरित गरेका थिए। आज पनि ती ऐतिहासिक उपलब्धिहरू विज्ञान र प्रविधिको क्षेत्रमा मानव जातिको अदम्य साहसको प्रतीक बनेर जीवित छन्।

 

(विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा तयार पारिएको रिपोर्ट)



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट