भारत सरकारको निर्देशनमा ८ हजारभन्दा बढी खाता ब्लक गर्दैं एक्स

सोसल मिडिया प्लेटफर्म एक्स (पूर्व ट्विटर) ले भारतमा सञ्चालित ८ हजारभन्दा बढी खाता रोक्ने निर्णय सार्वजनिक गरेको छ । भारत सरकारको निर्देशनअनुसार पाकिस्तानसम्बन्धी सामग्रीहरूमाथि निगरानी कडा पार्दै यस्तो कदम चालिएको हो ।
एक्सको ग्लोबल गभर्नमेन्ट अफेयर्स टिमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "भारत सरकारबाट प्राप्त कार्यकारी आदेशअनुसार भारतमा ८,००० भन्दा बढी खाताहरू ब्लक गर्न भनिएको छ ।" साथै, उक्त आदेश नमानिए प्लेटफर्मका स्थानीय कर्मचारीलाई जरिवाना वा जेल सजायको खतरा रहेको पनि उल्लेख गरिएको छ ।
सरकारको आदेशमा केही अन्तर्राष्ट्रिय समाचार संस्था र प्रतिष्ठित सामाजिक व्यक्तित्वहरूका खाताहरू पनि समावेश रहेको एक्सले जनाएको छ । तर, एक्सले ती खाताहरूको विस्तृत विवरण सार्वजनिक गरेको छैन ।
एक्सले स्पष्ट रूपमा यो कदमप्रति असहमति जनाएको छ । विज्ञप्तिमा भनिएको छ, "संपूर्ण खाताहरू ब्लक गर्नु न केवल अनावश्यक छ, यो अभिव्यक्ति स्वतन्त्रताको उल्लङ्घन हो ।" तर, भारतमा सेवा निरन्तर राख्न बाध्य भएकाले यस्तो निर्णय लिइएको एक्सको भनाइ छ ।
तपाईको प्रतिक्रिया दिनुहोस