इन्टरनेट बिना चल्ने गुगल म्याप्समा नयाँ एआई फिचर सार्वजनिक
AI Edge Gallery एपमा गुगलले आफ्नो नयाँ ल्याङ्ग्वेज मोडेल Gemma 3N प्रयोग गरेको छ ।

गुगलले इन्टरनेट नचले पनि काम गर्ने अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) एप ‘AI Edge Gallery’ सार्वजनिक गरेको छ । विना हल्लाखल्ला सुरु गरिएको यो एप हाल एन्ड्रोइड फोनमा मात्र उपलब्ध छ, र यसले च्याट, कोड लेख्न, तस्बिर बनाउन जस्ता कामहरू इन्टरनेटबिनै गर्न सक्छ । गुगलको यस कदमले अफलाइन एआई प्रयोगको नयाँ युगको सुरुवात भएको विश्लेषण गरिएको छ ।
गुगलका अनुसार, यो एपमा गरिएको सम्पूर्ण प्रोसेसिङ प्रयोगकर्ताको डिभाइसमै हुन्छ । यसले गोपनीयता, सुरक्षा र प्रोसेसिङ स्पिड सुनिश्चित गर्छ । इन्टरनेट वा क्लाउड सर्भरको आवश्यकता नपर्ने भएकाले, यो एप टाढा रहेका इन्टरनेटविहीन क्षेत्रहरूमा पनि प्रभावकारी रूपमा काम गर्न सक्षम रहेको बताइएको छ ।
AI Edge Gallery एपमा गुगलले आफ्नो नयाँ ल्याङ्ग्वेज मोडेल Gemma 3N प्रयोग गरेको छ । केवल ५२९ एमबीको यो मोडेलले प्रति सेकेन्ड २५८५ टोकन प्रोसेस गर्न सक्छ । हाल यो एप अल्फा संस्करण अर्थात परीक्षण चरणमा रहेको छ ।
गुगलका प्रवक्ताका अनुसार, “हामी एआई प्रयोगकर्ताको हातमै पुर्याउने लक्ष्यमा छौं । इन्टरनेट वा क्लाउडको आवश्यकता नपर्ने भएकाले प्रयोगकर्ताको गोपनीयता सुरक्षित हुन्छ र कनेक्टिभिटी नभएको ठाउँमा पनि एआई प्रयोग सम्भव हुन्छ ।”
एपका तीन मुख्य फिचर:
AI Chat: सामान्य प्रश्नोत्तर संवादका लागि
Ask Image: तस्बिर देखाएर सोधपुछ गर्न सकिने सुविधा
Prompt Lab: टेक्स्टलाई पुनर्लेखन, छोट्याउने वा नयाँ आइडिया विकास गर्न उपयोगी टूल
यो एप ओपन–सोर्स ढाँचामा सार्वजनिक गरिएको छ र व्यावसायिक प्रयोगका लागि पनि निःशुल्क उपलब्ध छ ।
एकै साता भित्र, गुगलले आफ्नो अर्को लोकप्रिय एप Google Maps मा पनि एआई फिचर थपेको छ, जसले प्रयोगकर्ताको यात्रा अनुभवमा आमूल परिवर्तन ल्याउने दाबी गरिएको छ ।
अबदेखि म्याप्समा कुनै स्थान सर्च गर्दा प्रयोगकर्तालाई केवल ठेगाना वा रूट मात्र होइन, एआई-संलग्न सन्दर्भ, सिफारिस र भिजुअल गाइड पनि प्राप्त हुनेछ । उदाहरणका लागि, "best local restaurants" सर्च गर्दा म्याप्सले केवल लिस्ट होइन, रिभ्युहरू, समयअनुसार सिफारिस, र तस्बिरसहितको व्याख्या दिन थाल्छ ।
गुगलका अनुसार यो सुविधा सुरूमा अमेरिका लगायत केही देशमा मात्र उपलब्ध हुनेछ, तर क्रमशः अन्य स्थानमा पनि विस्तार गरिने योजना रहेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस