Techie IT
२०८२ जेष्ठ २६, सोमबार

चीनको 'तियानवेन–२' को ऐतिहासिक यात्रा सुरु


चीनले अन्तरिक्ष अनुसन्धानको क्षेत्रमा नयाँ उपलब्धि हासिल गरेको छ । चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (CNSA) का अनुसार, ‘तियानवेन–२’ नामक अन्तरग्रहीय यान पृथ्वीको कक्षमा लगातार आठ दिनभन्दा बढी समयदेखि सफलतापूर्वक सञ्चालनमा छ । हालसम्म यो यान पृथ्वीबाट झन्डै ३० लाख किलोमिटर टाढा पुगिसकेको छ ।

‘तियानवेन–२’ चीनद्वारा प्रक्षेपण गरिएको पहिलो क्षुद्रग्रह नमूना सङ्कलन मिसन हो। यसलाई २०२५ मे २९ मा प्रक्षेपण गरिएको थियो । यानको मुख्य उद्देश्य भनेको पृथ्वी नजिकको ‘२०१६ HO3’ नामक क्षुद्रग्रहमा पुगेर त्यहाँबाट नमूना सङ्कलन गरी पुनः पृथ्वीमा ल्याउनु हो । साथै, यसको अर्को महत्वाकांक्षी लक्ष्य भनेको ग्रहपथको मुख्य क्षेत्रमा पर्ने ‘३११पी’ नामक धूमकेतुको पनि अध्ययन गर्नु हो ।

अन्तरिक्ष प्रशासनले तियानवेन–२ ले खिचेको एक तस्बिर सार्वजनिक गरेको छ, जसमा यानको सौर्य पाटा (सोलार प्यानल) पूर्ण रूपमा खुलेको स्पष्ट देखिन्छ । लामो यात्रा सफल बनाउनका लागि यानमा विशेष प्रकारका लचिला र गोलाकार सौर्य पाटा जडान गरिएको बताइएको छ, जसले आवश्यक ऊर्जा आपूर्ति गर्दछ ।

यस मिशनमार्फत चीनले क्षुद्रग्रहहरूको उत्पत्ति, विकासक्रम र प्रारम्भिक सौरमण्डलको संरचनाबारे वैज्ञानिक अध्ययन गर्ने लक्ष्य राखेको छ। अनुमानअनुसार, तियानवेन–२ को अन्तरिक्ष यात्रा लगभग १० वर्ष लामो हुनेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट