AI Market
२०२८ सम्म एआई चिप बजार ५०० अर्ब डलर नाघ्ने

सिलिकन भ्यालीस्थित अग्रणी चिप निर्माता कम्पनी एडभान्स्ड माइक्रो डिभाइस (एएमडी) का प्रमुख कार्यकारी लिसा सुले सन् २०२८ सम्ममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रोसेसरको बजार ५०० अर्ब डलर (५०० बिलियन) नाघ्ने स्पष्ट दाबी गरेकी छन्।
हालै आयोजित एक कार्यक्रममा बोल्दै सुले कम्पनीको पछिल्लो उत्पादनहरू सार्वजनिक गर्ने क्रममा एआई चिपको बजारमा उल्लेख्य बृद्धि हुने दाबी गरिन्। उनका अनुसार सन् २०२३ मा ४५ अर्ब डलरको हाराहारीमा रहेको एआई प्रोसेसर बजार हरेक वर्ष ६० प्रतिशतको दरले वृद्धि भई २०२८ सम्ममा ५०० अर्ब डलर पुग्नेछ।
उनले भनिन्, “हामीले आज जे देखिरहेका छौं त्यसको आधारमा म यो दाबी गर्न सक्छु कि सन् २०२८ सम्म एआई प्रोसेसर बजार ५०० बिलियन डलर नाघ्नेछ।”
कार्यक्रममा एएमडीले आफ्नो नयाँ ‘एमआई–३५० सिरिज’ ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) सार्वजनिक गरेको थियो। कम्पनीले उल्लेख गरेको अनुसार यो नयाँ चिप ग्राहकका लागि अत्यन्तै लाभदायक हुने र प्रति डलरमा ४० प्रतिशत बढी कार्यक्षमता प्रदान गर्नेछ।
हाल एआई चिप बजारमा एनभिडिया कम्पनीको प्रभुत्व कायम भए पनि एएमडीले प्रतिस्पर्धी उत्पादनमार्फत बजारमा गहिरो प्रवेश गर्ने संकेत दिएको छ। एनभिडियाका चिपको उच्च मागका कारण प्रायः ग्राहकहरूले लामो समय पर्खनुपर्ने अवस्था रहेको छ, जुन अवस्थालाई एएमडीले आफ्नो नयाँ चिप्सबाट चुनौती दिने आशा गरिएको छ।
सुले जानकारी दिएकी छन् कि भारतीय टेलिकम क्षेत्रको सबभन्दा ठूलो कम्पनी रिलायन्स जियोसहित १० ठूला एआई ग्राहकमध्ये ७ वटा कम्पनीहरूले हाल एएमडीको इन्स्टिंक्ट एक्सेलेरेटर प्रयोग गरिरहेका छन्।
यससँगै एएमडीले डेभलपर क्लाउड एक्सेस प्रोग्राम को सुरुआतसमेत गरेको छ। यस कार्यक्रमअन्तर्गत विकासकर्ताहरूलाई एएमडीका प्रविधिहरूमा प्रत्यक्ष पहुँच दिने व्यवस्था गरिएको छ, जसले नवप्रवर्तनलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।
एआई प्रविधिको बढ्दो प्रयोगसँगै एएमडीको आक्रामक रणनीति तथा नवीनतम उत्पादनहरूले विश्व चिप बजारमा नयाँ तरंग ल्याउने अनुमान विश्लेषकहरूले गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस