Techie IT
२०८२ असार १४, शनिबार

भारतमा ‘वेगोवी’ इन्जेक्शन सार्वजनिक: तौल घटाउने औषधिमा नयाँ क्रान्तिको संकेत

डोजको हेरफेर वा ओभरडोजले पाचन समस्या, पित्त थैलीका रोग वा मानसिक असन्तुलनसम्म निम्त्याउन सक्ने खतरा रहेको जनाइएको छ ।


मोटोपनाको समस्या समाधान गर्न विश्वभर नयाँ औषधिहरूको विकास भईरहेका बेला भारतमा तौल घटाउने अत्याधुनिक औषधि ‘वेगोवी’ (Wegovy) सार्वजनिक गरिएको छ। नोभो नॉर्डिस्क (Novo Nordisk) कम्पनीद्वारा उत्पादित यो औषधि यही जुन २४ (असार १०) मा भारतमा औपचारिक रूपमा लन्च गरिएको हो ।

वेगोवी वास्तवमा सेमाग्लूटाइड (semaglutide) नामक सक्रिय यौगिकको उच्च मात्रा संस्करण गरिएको छ जुन पहिलेदेखि नै मधुमेह नियन्त्रणका लागि प्रयोग हुँदै आएको थियो। अब यसलाई मोटोपना नियन्त्रण गर्ने औषधिको रूपमा समेत विस्तार गरिएको हो ।

यो औषधिले मुख्यत: तीन तहमा काम गर्छ:

१) भोक नियन्त्रण गर्ने,

२) पाचन प्रक्रियालाई सुस्त बनाउने,

३) लामो समय पेट भरिएको महसुस गराउने ।

मुम्बईको लीलावती अस्पतालका एन्डोक्रिनोलोजिस्ट डा. शशांक जोशीका अनुसार, “वेगोवी मधुमेहका साथै मोटोपनाका समस्या झेलिरहेका मानिसहरूका लागि दीर्घकालीन समाधान हुन सक्छ ।” उनका अनुसार यो औषधिले पाचनप्रणाली सुधार गर्नेदेखि लिएर महिलाहरूमा प्रसवपश्चात् हुने तौल वृद्धिलाई नियन्त्रण गर्न समेत सहयोग पुर्‍याउँछ ।

भारतमा यो औषधिको लञ्चसँगै अब एलि लिली कम्पनीको “मउनजारो” (Mounjaro) पछि यो दोस्रो अधिकृत तौल घटाउने इन्जेक्शन भएको हो । यी दुवै औषधिहरू हाल बजारमा व्यापक चर्चा र प्रतिस्पर्धामा छन् । वेगोवीले औसतमा १५ प्रतिशत तौल घटाउने प्रभाव देखाएको दाबी गरिएको छ भने मउनजारोको प्रभाव अझ धेरै (२३% सम्म) हुने देखिएको थियो ।

भारतीय बजारमा वेगोवीको मूल्य मासिक डोजअनुसार ₹१७,००० देखि ₹2२६,००० सम्म पर्छ । फ्लेक्स टच पेन नामक इन्जेक्शन उपकरणमार्फत हप्तामा एकपटक मात्र प्रयोग गर्नुपर्ने भएकाले यो प्रयोगमा पनि सहज मानिन्छ ।

हालसम्म नेपालमा वेगोवी वा मउनजारो उपलब्ध छैनन् । यद्यपि सेमाग्लूटाइड यौगिकको प्रयोग भएको मधुमेह नियन्त्रण औषधि ‘ओजेम्पिक’ (Ozempic) भने नेपाली बजारमा सीमित मात्रामा पाइन्छ । औषधिको मूल्य, डोज, साइड इफेक्ट तथा प्रयोग विधिको अभावका कारण नेपालमा अझै पनि यसप्रकारका औषधिहरू दिगो विकल्प बन्न सकेका छैनन्।

नेपालका फार्मास्युटिकल कम्पनीहरूले सेमाग्लूटाइडमा आधारित जेनरिक औषधिको उत्पादन गर्ने तयारी गरिरहेका भए तापनि, औषधि व्यवस्था विभागको स्वीकृति र गुणस्तर प्रमाणीकरण प्रक्रिया सकिन अझै समय लाग्ने देखिन्छ ।

म्याक्स हेल्थकेयरका डा. अम्ब्रीश मिथलका अनुसार, “यो औषधिले मुटु रोगको जोखिमलाई २० प्रतिशतले घटाउने देखिएको छ, तर जीवनशैली परिमार्जनबिना यसको प्रभाव दीर्घकालीन रहन सक्दैन ।” त्यस्तै, रिलायन्स अस्पतालका डा. मुफजल लकडावाला भन्छन्, “यो औषधि तौल घटाउने उपकरण मात्रै होइन, सोच र व्यवहार परिवर्तन गर्ने माध्यम पनि हो ।”

चिकित्सकहरू औषधिको प्रयोग बिना सल्लाह नगर्न सुझाव दिएका छन् । डोजको हेरफेर वा ओभरडोजले पाचन समस्या, पित्त थैलीका रोग वा मानसिक असन्तुलनसम्म निम्त्याउन सक्ने खतरा रहेको जनाइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट