हुवावेले एप्पललाई पछि पार्दै चीनको मोबाइल बजारमा अग्रता कायम

चिनियाँ प्रविधि कम्पनी हुवावे चार वर्षपछि पुनः चीनको स्मार्टफोन बजारको अग्रस्थानमा उक्लिएको छ । हुवावेले अमेरिकी कम्पनी एप्पल र अन्य चिनियाँ प्रतिस्पर्धीहरूलाई उछिन्दै सबैभन्दा धेरै मोबाइल बिक्री गर्ने कम्पनीको स्थान हासिल गरेको हो ।
एक प्रतिवेदनअनुसार, सन् २०२५ को दोस्रो त्रैमासिकमा हुवावेले १ करोड २५ लाख युनिट स्मार्टफोन बिक्री गर्दै १८.१ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ ।
यो उपलब्धिलाई हुवावेका लागि उल्लेखनीय पुनरागमनको रूपमा हेरिएको छ । कम्पनीले विगतमा अमेरिकी प्रतिबन्ध र भ्रष्टाचार छानबिनजस्ता गम्भीर चुनौतीहरूको सामना गर्नुपरेको थियो ।
यता, चीनको समग्र स्मार्टफोन बजार भने खुम्चिएको छ । उक्त त्रैमासिक अवधिमा मोबाइल बिक्री ४ प्रतिशतले घटेर ६ करोड ९० लाख युनिटमा झरेको छ । मोबाइल बजार विश्लेषक आर्थर गुओ भन्छन्, “चीन–अमेरिका व्यापार सम्बन्धमा केही सुधार भए पनि देशको समग्र आर्थिक अवस्था कमजोर छ।”
उनका अनुसार, “उपभोक्ताहरूमा खर्च गर्ने आत्मविश्वास अझै कम छ, त्यसैले नजिकैको भविष्यमा मोबाइल माग तीव्र गतिमा बढ्ने सम्भावना न्यून देखिन्छ।”
अमेरिकासँग लामो समयदेखि विवादमा रहेको हुवावेमाथि सन् २०१९ यता जासुसीको आरोप लगाउँदै विभिन्न प्रतिबन्धहरू लगाइएका थिए, जसलाई कम्पनीले निरन्तर खण्डन गर्दै आएको छ ।
अमेरिकी प्रविधिको पहुँच गुमेपछि हुवावे आफ्नै चिप, अपरेटिङ सिस्टम र अन्य प्रविधिहरू विकासमा लागिपरेको थियो । यही रणनीतिले कम्पनीलाई पुनरागमनको बाटो खोलेको विश्लेषण गरिन्छ ।
त्यस्तै, एप्पलको प्रदर्शन भने कमजोर देखिएको छ। रिपोर्टअनुसार, एप्पलले ९६ लाख युनिट मात्र बिक्री गर्न सफल भयो, जसले कम्पनीको बजार हिस्सा घटेर १३.९ प्रतिशतमा झरेको छ।
यससँगै एप्पल चीनको मोबाइल बजारमा पाँचौँ स्थानमा झरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस