बोका किन्दा नक्कली नोटको कारोबार गर्ने दुईजना पक्राउ
ओखलढुंगामा बोका किनबेचको क्रममा नक्कली नोटको कारोबार गर्ने दुईजना पक्राउ परेका छन्। सुनकोसी गाउँपालिका–९, ककनीबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनका अनुसार पक्राउ पर्नेमा चम्पादेवी गाउँपालिकास्थित केउरिनीका २१ वर्षीय कृष्ण खत्री र ३३ वर्षीय ध्रुवबहादुर खत्री रहेका छन्।
उनीहरूले सुनकोसी–९ का स्थानीय हस्तबहादुर तामाङ र वीरबहादुर तामाङसँग तीनवटा बोका खरिद गर्दा कुल २८ हजार रूपैयाँको कारोबार गरेका थिए। सो क्रममा उनीहरूले १९ हजार रूपैयाँ बराबरको एक हजार दरका १९ थान नक्कली नोट दिएको पाइएपछि स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानबाट उनीहरूले उक्त नक्कली नोट काठमाडौंबाट ल्याएको खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस